जडीबुटी खेतीबाट मनग्य आम्दानी हुने थालेपछि व्यावसायिक रुपमा आबद्ध किसानहरु उत्पादन भएको तेल बिक्री नहुँदा निराश छन् । कञ्चनपुरका विभिन्न स्थानीय तहका किसानहरु नगदे आम्दानी हुन थालेपछि जडीबुटी खेतीतर्फ आकर्षित हुन थालेको भए पनि समयमा उत्पादन भएको तेल बिक्री नभएको स्थानीयको दुखेसो छ ।
“अघिल्ला वर्षहरुमा दशैँ, तिहार अगाडि नै तेल खरीदका लागि गाउँमै आउँथे ।” यहाँको बेदकोट नगरपालिकाको जडीबुटी समूहकी अध्यक्ष पाना बोहराले भने, “अहिले दोहो¥याएर खेती गर्ने बेला पनि क्यामामाइलको तेल बिक्री भएन ।” उनले क्यामामाइल नामक जडीबुटीको तेल प्रतिलिटर रु ५५ हजारदेखि रु ६० हजारसम्म बिक्री हुने गरेको बताए।
बेदको नगरपालिका–६ धरमपुरका ४० जनाभन्दा बढी किसानले उत्पादन गरेको जडीबुटीको तेल बिक्री नभएको बोहराको भनाइ छ । त्यसैगरी धरपुरकै किसान धनबहादुर बोहराले तीन बिघामा क्यामामाइल खेती गरेको बताउनुभयो । “अन्न खेतीबाट जडीबुटीमा लागें” बोहराले भने, “उत्पादन गरेको तेल धन्किदा गुजारा चलाउन मुश्किल पर्ला जस्तो छ ।”
उनले दुई बिघा जमीन भाडामा लिएर जडीबुटी खेती गरिरहेको बताए ।
यहाँका किसानहरु बिगत नौ वर्षदेखि जडीबुटीको खेती गरिरहेका छन् । “गाउँमा तेलमा दलाली गर्नेहरु आएपनि तेल खरीद गर्ने व्यापारी भने आएका छैनन् ।” बोहराले भने, “तेलमा कमिसन खान खोज्नेहरु सक्रिय छन् ।”
यहाँका नौ वटै स्थानीय तह र विभिन्न सामुदायिक वन गरी दुई हजार ५३० कठ्ठामा क्यामामाइल खेती हुँदै आएको तथ्याङ्कमा देखिन्छ । उत्पादित जडिबुटीको तेल कस्मेटिक सामग्री र औषधिमा प्रयोग हुने गरेको छ । नेपाल जडीबुटी व्यवसायी सङ्घ कञ्चनपुरका अध्यक्ष श्यामराज भट्टले भारतलगायत तेस्रो मुलुकमा निर्यात हुने गरेको बताए ।
“यहाँका भन्सार नाकाबाट बढी निर्यात हुने नै क्यामामाइलको तेल हो”, उनले भने, “तर अहिले भारतीय बजारहरुमा पनि यसको माग घट्दो अवस्थामा छ ।” यहाँका जडीबुटी खेतीमा जिल्लाभरि ५०० भन्दा बढी किसान आबद्ध छन् ।
प्रतिक्रिया