नजिकिँदै गरेको महान् चाड तिहारलाई लक्षित गर्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले बजार अनुगमन गरेको छ ।
मङ्गलबार र बुधबार गरी मुख्य बजारका १९ मिठाइ पसलमा गरेको अनुगमनका क्रममा सङ्कलित नमूनामा पिठो मिसिएको पाएपछि कार्यालयले बसपार्कको भद्रपुर स्वीट हाउस, अदालत रोडको मधुवन स्वीट हाउस, पुष्पलालचोकको सदाबहार फास्टफुड, जुगेडा रोडको नवीन होटल र मोतीचोकको अनुकल डेरी गरी पाँच पसलबाट झण्डै आठ किलोग्राम पिठो मिसिएको मिल्केक पाइएपछि मिठाइ जफत गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत सुमन धितालले जानकारी दिनुए ।
त्यस्तै क्याम्पस रोडको न्यू अनुपमा स्वीट एण्ड बेकरीको उत्पादनस्थल अत्यन्तै फोहर रहेको पाइएपछि उत्पादन रोक्का गरिएको वरिष्ठ खाद्य अनुसन्धान अधिकृत धितालले बताए । नवीन होटल र सदावहार फास्टफुडबाट उपभोग्य मिति सकिएको १६ लिटर जति पेय पदार्थ पनि जफत गरिएको छ ।
तिहारको समयमा मिठाइ बढी बिक्ने भएका कारण मौका छोपेर मिसावट गरी बिक्री वितरण हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै खाद्य अनु्सन्धान अधिकृत दीपक कुँवरको नेतृत्वमा अनुगमन टोली खटाइएको र टोलीले हरेक पसलबाट नमूना सङ्कलन गरी कार्यालयको प्रयोगशालामा परीक्षण गरिरहेको जनाइएको छ ।
प्रतिक्रिया