खोटाङ – खोटाङ कृषकले खेती गर्न छाडेपछि यस वर्ष जिल्लामा अदुवाको मूल्य अहिलेसम्मकै उच्च भएको छ ।
विगतका वर्षहरुमा प्रतिकेजी रु २५ देखि ३० मा पाइने अदुवा यस वर्ष मूल्य बढेर प्रतिकेजी रु २०० देखि २२० सम्ममा खरीद तथा बिक्री भइरहेको छ ।
जिल्लाको प्रमुख व्यापारिक केन्द्रसमेत रहेको दिक्तेलबजारमा शनिबार र बुधबार लाग्ने हटियामा अदुवा किन्नेको तछाडमछाड नै चल्ने गरेको छ ।
अदुवा मसलाका रुपमा प्रयोग गरिन्छ । विकसित शहरमा अदुवाबाट केण्डी, सुठो, जुसलगायत विभिन्न परिकार बनाइए पनि यहाँ प्रविधिको अभावमा मसलाका रूपमा मात्रै प्रयोग गरिन्छ ।
आदिवासी जनजाति समुदायको बाहुल्यता रहेको जिल्लामा अदुवालाई मसलाका साथै पितृकार्यमा समेत प्रयोग गर्ने गरिएको छ ।
पछिल्ला दुई वर्षयता हाटबजारमा अदुवा नपाएपछि पितृकार्यमा प्रयोग गर्नसमेत समस्या भएको जिल्लावासीले बताएका छन् ।
कृषकका अनुसार दुई वर्षअघि उद्योग वाणिज्य सङ्घले खरीद नगर्दा एक कृषकको कम्तीमा पनि चार÷पाँच क्विन्टल अदुवा कुहिएर खेर गएको थियो ।
सो समयमा वाणिज्य सङ्घले अदुवा प्रशोधन गरेर व्यावसायिक रुप दिन सङ्ग्राम राईको अध्यक्षतामा अदुवा व्यवसायी सङ्घसमेत गठन गरेको थियो ।
जिल्लाका अदुवा उत्पादक कृषकलाई समेटेर व्यवसायी सङ्घ गठन गरेपछि उत्साहित कृषक उत्पादन गरेको अदुवा बिक्री नभएपछि निराश बनेका थिए ।
जिल्लामै प्रशोधन केन्द्र खोल्ने हल्ला सुनेपछि बिगतभन्दा बढाएर खेती गरेका कृषक उत्पादन गरेको अदुवा बिक्री नभएपछि निराश बनेका हुन् ।
प्रतिक्रिया