एक वर्षमा चारवटा पाँचतारे होटल, नेपालमा १५ पुगे पाँचतारे

६ बर्ष अगाडि

नेपालमा एकवर्षको अवधिमा चारवटा पाँचतारे होटल थपिएका छन् । काठमाडौंमा २ र बाँकेमा २ गरी ४ वटा पाँचतारे होटल थपिएको पर्यटन विभागले जनाएको छ । 
आर्थिक वर्ष २०७५÷७६ मा काठमाडौंमा मेरियट र होटल अलफ तथा बाँकेको कोहलपुरमा होटल सेन्ट्रल प्लाजा र नेपालगन्जमा सोल्टी शिवविक्रम होटल्स तथा रिसोर्ट सञ्चालनमा आएको पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले बताए । 

यो सँगै नेपालमा पाँचतारे होटलको संख्या १५ पुगेको छ । अघिल्लो वर्ष ११ वटा पाँचतारे होटल थिए । काठमाडौं उपत्यकाभित्रै पाँचतारे होटल १० र काठमाडौं बाहिर पोखरा, नेपालगन्ज, कोहलपुर र भैरहवामा पाँचवटा छन् ।नेपाल भ्रमणवर्ष २०२० अभियानसँगै चारचारे र पाँचतारे गरी ११ होटल थपिने क्रममा रहेको घिमिरेले बताए । एउटा पाँचतारे होटल निर्माणमा औसत २ अर्ब लगानी हुन्छ । उद्योग विभागका महानिर्देशक विनोदप्रकाश सिंहले नेपालमा जलविद्युत्पछि धेरै विदेशी लगानी प्रस्ताव हुने क्षेत्र पर्यटन रहेको बताए ।

उनका अनुसार सर्वाधिक विदेशी लगानी चिनियाँको रहेको छ । पर्यटन विभागका महानिर्देशक घिमिरेले पर्यटन क्षेत्रअन्तर्गत होटल तथा पर्यटन पूर्वाधारमा ३६ खर्ब वैदेशिक लगानी पाइप लाइनमा रहेको बताए ।

नेपाल सरकारले भ्रमण वर्ष घोषणा गरेसँगै पर्यटन क्षेत्रमा १० हजार बेड (शय्या) थपिने भएका छन् । पर्यटन विभागका अनुसार चालु वर्ष नेपालमा पर्यटकस्तरीयदेखि माथि पाँचतारे होटलसम्मको बेड संख्या कम्तीमा ६६ हजार पुग्नेछ ।

६ बर्ष अगाडि

प्रतिक्रिया