लगातार बढ्दै व्यापार घाटा एक वर्षमा मात्रै १३ खर्ब २१ अर्ब

६ बर्ष अगाडि

काठमाडौं – एक वर्ष भरिमा नेपालको व्यापार घाटा रु १३ खर्ब २१ अर्बको देखिएको छ । गत आर्थिक वर्ष २०७५÷७६मा नेपालले विदेशबाट रु १४ अर्ब १८ अर्बको वस्तु आयत गरेको थियो। तर निर्यात भने ९७ अर्ब रुपैयाँको मात्रै गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङक अनुसार आर्थिक वर्ष २०७५।७६ मा कुल वस्तु आयात १३.९ प्रतिशतले बढेर १४ खर्ब १८ अर्ब ५४ करोड पुगेको हो।अघिल्लो वर्ष यस्तो आयात २५.८ प्रतिशतले बढेको थियो।

वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात १२.८ प्रतिशत, चीनबाट भएको आयात २८.५ प्रतिशत र अन्य मुलुकबाट भएको आयात ८.९ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, तयारी पोशाक, विद्युतीय सामान, अन्य मेसिनरी पार्टपुर्जा, एम.एस. बिलेट लगायतका वस्तुको आयात बढेको छ भने सिमेन्ट, यातायातका साधन तथा पार्टपुर्जा, दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, स्वास्थ्य उपकरण तथा औजार, प्लाष्टिक दाना लगायतका वस्तुहरुको आयात घटेको छ ।

आर्थिक वर्ष २०७५।७६ मा कुल वस्तु निर्यात १९.४ प्रतिशतले वृद्धि भई ९७ अर्ब ११ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो निर्यात ११.४ प्रतिशतले वृद्धि भएको थियो ।

गन्तव्यका आधारमा भारततर्फ ३४.३ प्रतिशत र अन्य मुलुकतर्फ ०.२ प्रतिशतले निर्यात वृद्धि भएको छ । चीनतर्फको निर्यातमा १३.५ प्रतिशतले कमी आएको छ ।

वस्तुगत आधारमा पाम आयल, पोलिष्टर यार्न, जुटका सामान, दाल, चाउचाउ लगायतका वस्तुको निर्यात बढेको छ भने अलैंची, तयारी पोशाक, पश्मिना, जुत्ता तथा चप्पल, छाला लगायतका वस्तुहरुको निर्यात घटेको छ ।

भन्सार नाकाका आधारमा सुख्खा बन्दरगाह भन्सार कार्यालय र कृष्णनगर भन्सार कार्यालय वाहेक अन्य मुख्य भन्सार नाकाहरुबाट भएको निर्यातमा वृद्धि भएको छ । आयाततर्फ भने कृष्णनगर भन्सार कार्यालय वाहेक अन्य मुख्य भन्सार नाका्बाट भएको आयातमा वृद्धि भएको छ ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया