पश्चिमी र स्थानीय वायुको प्रभावले आज बिहानै काठमाडौँ उपत्यकासहित देशभर हावाहुरीसहित वर्षा भएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् विभूति पोखरेलेका अनुसार पश्चिमी र स्थानीय वायु सक्रिय भएका कारणले हावाहुरीसहित वर्षा भएको हो । सोमबारसम्म देशको अधिकांश स्थानको मौसम प्रभावित हुने मौसमविद् पोखरेलले बताइन् ।
काठमाडौँ उपत्यकामा आज दिउँसो केही बेर मौसम खुला भई घाम लाग्ने छ र अन्य स्थानमा भने तत्काल मौसम सफा हुने अवस्था नरहेको मौसम पूर्वनुमान महाशाखाले जनाएको छ ।
नेपाली आकाशमा मल्टिपल अर्थात् संयुक्त प्रणालीको प्रभाव देखिएपछि मौसममा खराबी आएको हो । मौसम पूर्वानुमान महाशाखाकाअनुसार अहिले पश्चिमी वायु, न्यून चापीय प्रणाली, स्थानीय वायु र बंगालको खाडीमा विकसित प्रणालीको एकसाथ प्रभाव देखिएको छ । जसका कारण आज मुलुकका विभिन्न स्थानमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको छ ।
पोखरादेखि पूर्वतिरको मौसममा खराबी देखिए पनि पश्चिमी क्षेत्रको मौसममा खासै प्रभाव परेको छैन । आज छिनमै मेघ गर्जनसहित पानी पर्ने र लगत्तै घाम लाग्ने देखिन्छ । यो प्रणालीले पोखरादेखि पश्चिमका क्षेत्रमा खासै असर नगर्ने भए पनि प्रि–मनसुनमा छिनछिनमा मौसम परिवर्तन हुने भएकाले पानी पर्ने सम्भावना कायमै रहने मौसमविद्हरुले जानकारी दिएका छन् ।
मौसमविद् पोखरेलका अनुसार तराईका सिमाना र पश्चिमी पहाडका केही स्थानमा हल्का हावाहुरी चल्ने तथा उच्च हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना देखिएको छ । पूर्व र मध्य तराईका भूभागमा हुरीबतास चल्ने सम्भावना रहेको छ ।
शनिबार दिउँसो मुलुकका अधिकांश भूभागमा सामान्यतः बदली रहने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार केही स्थानमा मेघ गर्जने र चट्याङसहित हुरीबतासको सम्भावना भएकाले सुरक्षित हुन आह्वान गरिएको छ । साथै हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना देखिन्छ । तराईका भूभागमा पनि हुरीबतास चल्ने सम्भावना छ ।
यसैगरी, शनिबार राति पनि मुलुकका अधिकांश भूभागमा बदली रहनेछ । आइतबार दिउँसो देशभरका धेरैजसो भूभागमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ । देशको पूर्वी तथा मध्य भूभागका थोरै स्थानमा र पश्चिमी भूभागका एक वा दुई स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना देखिन्छ ।
यसैगरी, आइतबार राति मुलुकको पूर्वी क्षेत्रका अधिकांश भूभागमा सामान्य बदली तथा मध्य र पश्चिमी क्षेत्रको भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । देशको पूर्वी भूभागका थोरै स्थानमा मेघ गर्जनका साथ हल्का वर्षाको सम्भावना रहेसँगै शनिबार साँझ पश्चिम र मध्य तराईका केही स्थानमा हुरीबतास चल्ने महाशाखाले जनाएको छ ।
प्रतिक्रिया