काठमाडौं – शनिबार लगानी सम्मेलन सकिएको छ । तर त्यसको चर्चा र परिचर्चा भने अझै सकिएको छैन । सरकारले सम्मेलन सफल भएको दावी गरिरहँदा केहीले भने सम्मेलन केवल एउटा कर्मकाण्डमा मात्रै सकिएको प्रतिक्रिया दिएका छन् ।
सम्मेलनका क्रममा विभिन्न १५ आयोजनाको समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
तर समझदारीपत्रमा भएका केही हस्ताक्षर भने पटक पटक भएका विषय थिए । ती कुनै नयाँ विषय भने थिएनन् । कारण यस अघि पनि ती आयोजनामा लगानी गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएका थिए ।
त्यसका केही उदाहरण छन् । गत वर्ष प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा गएका थिए । सो भ्रमणमा क्रममा निजी क्षेत्रका केही आयोजना र चिनियाँ लगानीकर्ता बीच पनि लगानी सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएका थिए ।
यस पटकको लगानी सम्मेलनमा पनि ती आयोजनाको पुनः हस्ताक्षर भएका छन् ।
अपि पावर कम्पनी र सिद्धकाली पावर कम्पनीले निर्माण गर्न लागेको त्रिशूली गल्छी जलविद्युत् आयोजना निर्माणका विषयमा गत वर्ष नै चीन भ्रमणका क्रममा समेत चिनियाँ लगानीकर्तासँग सम्झौतापत्रमा हस्ताक्ष्र भएको थियो । कूल ७५ मेगावाट क्षमतामा निर्माण गर्ने भनिएको सो आयोजनाको क्षमता घटाएर ३५ देखि ४० मेगावाटको आसपास मात्रै निर्माण गर्ने तयारी गरिएको छ ।
गूर न्यौपानेको सो कम्पनीले यस पटक त्रिशूली गल्छी, माथिल्लो चमेलिया ४० मेगावाट समेत जोडेर कूल ९८ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गर्ने भन्ने समझदारीपत्रमा हस्ताक्षर गरिएको छ ।
सम्मेलनको महत्वपूर्ण शत्रलाई उपयोग गरेर न्यौपानेले पुनः कडेल समूहसँग सहकार्य गर्ने गरी समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।
त्रिशूली–गल्छी जलविद्युत् आयोजनामा चिनियाँ कम्पनीले लगानी गर्ने भन्दै अपि पावरले गत वर्ष राम्रै हल्ला गरेको थियो । छेन्दुस्थित डोङफाङ इलेक्ट्रिक इन्टरनेसनल कर्पोरेसनले ७५ मेगावाट क्षमताको सो आयोजनामा लगानी गर्न भनेको थियो ।
सिद्धकाली पावर लिमिटेडले प्रवर्द्धन गरेको आयोजनाको सिभिलतर्फको काम पनि चिनियाँ कम्पनीले नै गर्ने हल्ला गरिएको थियो । कूल १४ अर्ब ५० करोड लागत अनुमान गरिएको आयोजनामा चिनियाँ कम्पनीले १० अर्ब २९ करोड लगानी गर्ने जनाएको थियो ।
आयोजनाको प्रवद्र्धक सिद्धकाली पावर र चिनियाँ कम्पनी डोङफाङ इलेक्ट्रिकले गत चैतमा प्रारम्भिक हस्ताक्षर गरेका थिए । सोही हस्ताक्ष्रलाई प्रधानमन्त्रीको चीन भ्रमणमा समेत पुनः हस्ताक्षर भएको हल्ला गरिएको थियो ।
प्रवद्र्धक सिद्धकाली पावरले इन्जिनियरिङ, प्रोकुरमेन्ट, कन्स्ट्रक्सन र फाइनान्स (ईपीसी–एफ) मोडलमा यो आयोजना बन्न लागेको जानकारी दिइएको थियो ।
यस्तै ऊर्जा उद्यमी ज्ञानेन्द्रलाल प्रधानको समेत लगानी रहेको १६४ मेगावाट क्षमताको नेपाल कालीगण्डकी गर्जमा चिनियाँ कम्पनीले लगानी गर्ने सम्बन्धी समझदारीपत्रमा गत वर्ष प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा नै समझदारी गरिएको थियो ।
लगानी सम्मेलनको क्रममा समेत पुनः सोही आयोजनाको समझदारीपत्रमा हस्ताक्षर गरिएको छ ।
पछिल्लो पटक लगानी सम्मेलनमा सोही आयोजनाका लागि भन्दै सिन्हुवा वाटर कन्जरभेन्सी एण्ड हाइड्रोपावर इन्भेष्टमेन्ट, हाइड्रो सोलुसन समूह र सांगाई इन्भेष्टमेन्ट, डिजाइन एण्ड रिसर्च इन्स्टिच्युसनबीच कालीगण्डकी गर्ज निर्माणको समझदारी भएको छ । पटक पटक एउटै आयोजनामा समझदारी भएको हल्ला गर्ने प्रवृत्ति फेरी पनि दोहोरिएको छ ।
सधै एउटै आयोजनामा समझदारी भएको बताउने र महत्वपूर्ण अवसरलाई दुरुपयोग गर्ने प्रवृत्तिलाई भने केहीले आलोचना गरेका छन् ।
गत वर्ष प्रधानमन्त्रीको चीन भ्रमणको क्रममा नेपालको ऊर्जा क्षेत्रको विकासका लागि सरकारी तथा निजी क्षेत्रले संयुक्त प्रयास गर्ने विषयमा समेत सहमति भएका थिए ।
प्रतिक्रिया