काठमाडौँ – पटक–पटक एकताको प्रयास भएपनि टुंगोमा पुग्न नसकेको राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम नेपालले एकपटक फेरि एकीकरणका लागि मिलन बिन्दुको खोजी सुरू गरेका छन् ।
दुवै दलले एकीकरणका लागि औपचारिक रूपमा छलफल सुरू गरिसकेका छन् । राजपा नेपाल अहिले प्रतिपक्षी दल हो भने फोरम नेपाल सत्ता साझेदार दल हो । प्रदेश २ मा राजपा र फोरमको संयुक्त सरकार छ । आफ्ना मागहरू पुरा नगरेको भन्दै राजपा नेपालले सरकारको कडा रूपमा आलोचना गर्दै आइरहेको छ भने संघीय समाजवादी फोरम नेकपा नेतृत्वको सरकारले गरेका कतिपय निर्णयमा फरक मत राख्दै आएको छ ।
फोरमले गत पुस ११ मा राजपा नेपाललाई पार्टी एकताको लागि पत्र पठाएको थियो त्यतिबेला राजपा सरकार समर्थक दल थियो । मधेशी, जनजाति र समावेशी एजेन्डालाई राज्यले बेवास्ता गरेको, समान विचार र धारणा बोक्ने पार्टी एक ठाउँमा हुनुपर्ने आशय सहितको पत्र फोरमले राजपालाई पठाएको थियो । राजपाको प्रतिक्रिया आउनुभन्दा पहिले नै फोरमले राजपासँग एकीकरणका लागि सहअध्यक्ष राजेन्द्र श्रेष्ठको संयोजकत्वमा वार्ता समिति पनि गठन गरिसकेको थियो ।
फोरम नेपालले चैत्र ६ गते राजपालाई अर्को पत्र पठाउँदै कुनै दल सरकारमा र कुनै दल सरकार बाहिर भएकै कारणले मात्र पार्टी एकीकरण जस्तो महत्वपूर्ण कार्यमा बाधा, अवरोध हुनुहुँदैन, सरकार छोड्ने विषय रणनीतिक तथा कार्यनीतिक सवाल मात्र भएको आशयको पत्र राजपालाई पठाएको छ । पार्टी एकीकरण गर्न पार्र्टीहरूबीच, उद्देश्य, नीति, कार्यक्रम, सिद्धान्त र विचार मिल्नुपर्छ फोरमले पत्रमा उल्लेखित गरेको छ ।
एकीकरण हुनासाथ सरकार वा विपक्षमा कहाँ रहेर के कार्य गर्ने र कस्तो भूमिका खेल्ने भन्ने विषयमा निर्णय गरेर अगाडि बढ्न सकिन्छ फोरमले राजपालाई पठाएको पत्रमा उल्लेख गरेको छ ।
राजपाले एकीकरणको लागि फोरम सरकारबाट बाहिर आउनुपर्ने बताउँदै आएको छ । एउटा सरकारबाट बाहिर भएको दल र अर्को सरकारमा भएको दलबीच एकीरकण सम्भव नभएको राजपाको तर्क छ ।
बाहिरी रूपमा दुई चरणमा पार्टी एकीकरणको लागि फोरमबाट प्रस्ताव आएको भएपनि आन्तरिक रूपमा राजपा र फोरमले पार्टी एकीकरणका लागि गम्भीर छलफल गरिरहेको छ ।
फोरम र राजपाबीच विगतमा पनि एकीकरणको प्रयास नभएका होईनन् । तर सीके राउत र रेशम चौधरी प्रकरणले यी दुई शक्तिहरू एक हुन झन् अपरिहार्य भएको छ ।
प्रतिक्रिया