काठमाडौं – सरकारले लगानी भित्रयाउनका लागि भन्दै आयोजना गरेको लगानी सम्मेलन सोचे जति भव्य र प्रभावकारी बन्न नसकेको पाइएको छ ।
सम्मेलनका क्रममा गरिएको व्यवस्थापन नै सबै भन्दा कमजोर पाटोको रुपमा रहेको पाइएको छ । छलफल सत्रमा गरिएको छलफलमा वक्ताले एकोहोरो बोल्ने र सहभागी लगानीकर्तालाई कुनै पनि धारणा राख्न दिइएको थिएन । सम्मेलन एउटा कर्मकाण्ठमा सिमित भएको भन्दै धेरैले गुनासो गरेका छन् ।
निजी क्षेत्रका छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघलगायतका अध्यक्ष एवम् प्रतिनिधि सक्रिय रुपमा सहभागी भएपनि नेपाल चेम्बर अफ कमर्सका कुनै पनि पदाधिकारीलाई सम्मेलनको छलफल सत्रमा समेत उल्लेख्य रुपमा सहभागी गराइएको थिएन ।
निजी क्षेत्रका छाता संगठन नै एकले अर्कोको कुरा सुन्नै नचाहने प्रवृति पनि सम्मेलनको क्रममा देखिएको थियो । सम्मेलनका ऊर्जा तथा जलस्रोत क्षेत्रको विषयमा महत्वपूर्ण छलफल भए । तर छलफल सत्रमा तथा विदेशी लगानीकर्तालाई आर्कषित गर्न सहयोगी सिद्ध हुने स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल९इपान०का प्रतिनिधि समेत सहभागी थिएनन । इपानका कुनै पनि पदाधिकारी सम्मेलनको क्रममा देखिएनन् । केही सिमित व्यक्ति मात्रै इपाना नभनी कन नै सम्मेलनमा सहभागी भएका थिए ।
सम्मेलनको संयोजन गरिरहेको लगानी बोर्डले पनि आवश्यक व्यवस्थापन गर्न धेरै ठाँउमा चुकेको थियो । सन्दर्भ सामग्रीको वितरणदेखि सहभागीको व्यवस्थापनमा समेत बार्डको भूमिका जुन रुपमा हुनुपर्ने थियो, त्यस्तो हुन सकेको थिएन ।

विश्व बैंकका अध्यक्ष जिम योङ किम सम्मेलनका क्रममा आउने बताइएको थियो । उनलाई निमन्त्रण समेत पुगेको थियो । तर उनले अप्रत्यासित रुपमा राजीनामा दिएका कारण सम्मेलनमा सहभागी भएनन् । विश्व बैंकका प्रतिनिधि मात्रै सहभागी भएका थिए । अध्यक्ष्न नै आउँदा र अरु प्रतिनिधि सहभागी हुँदा त्यसले पार्ने प्रभाव फरक रहन सक्थ्यो ।
यस्तै सम्मेलनका क्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवलाई भूमिका विहिन जस्तै बनाइएको थियो । उद्घाट सत्रको दिन उनी बस्ने कुर्सी नपाएर दर्शक दीर्घामा आएर बसेका थिए । उनी मात्रै नभई उद्योग सचिव यामकुमारी खतिवडा र सहसचिव योगेन्द्र गौचन पनि दर्शक दीर्घामा बसेर राजनीतिक गफ गरेर बसेका थिए । छलफल सत्रको अध्यक्षता गरेका मन्त्री यादवले छलफल सकिएपछि उपहार नै लिन मानेनन् ।
अघिल्लो लगानी सम्मेलनमा उद्योग मन्त्रीको हैसियतले नविन्द्रराज जोशी हिरो बनेका थिए । तर यस पटक अर्थमन्त्री डा युवराज खतिवडालाई सुपरम्यान र उद्योग मन्त्री यादवलाई जिरो बनाइएको भन्दै सम्मेलन अवधिभर नै चर्चा परिचर्चा भएको थियो ।
यस्तै समाचार संकलनमा लागि पुगेका सञ्चारकर्मीले सहज रुपमा पास नपाउँदा केही समय उल्झन देखा परेको थियो । सम्मेलनका छलफल सत्रमा एकोहोरो भाषण गर्ने तर दोहोरो अन्तरक्रिया गर्ने अवस्था भने थिएन । जसका कारण लगानीकर्ताले कुन आयोजनाको अवस्था के कस्तो हो भन्ने बारेमा थाहा नै पाउन सकेनन् ।
केही नेपाली लगानीकर्ता भने विदेशमा आफूहरुले पनि ठूला ठूला गफ गरेको जस्तै यहाँ सहभागी भएका अधिकाशं व्यक्ति आफूहरु जस्तै गफाडी रहेको भन्दै व्यंग्य गरेर बसेका थिए ।
सम्मेलनका क्रममा भएका छलफलमा सहभागी हुनु भन्दा धेरै जसो नेपाली व्यवसायी भने विदेशी लगानीकर्तालाई आफ्नो प्रभावमा पार्न लागिपरेका थिए । उनीहरु सेल्फी खिच्न र कफी पिएर रमाइलो गर्न लागेका थिए ।

सरकारले सम्मेलनका लागि ५० र निजी क्षेत्रका २५ गरी कूल ७७ परियोजनालाई शो केशमा राखेको थियो । सम्मेलनकै क्रममा विभिन्न १५ आयोजनाको समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
यस्तै १७ वटा परियोजनामा आवेदन परेको छ । त्यसमा यातायात पूर्वाधारतर्फ ७, ऊर्जातर्फ ४, कृषिका ३, शिक्षा तथा स्वास्थ्यका २ र ढुवानी पूर्वाधारका १ परियोजनामा लगानीका लागि लगानीकर्ताले इच्छा व्यक्त गरेका छन् । सम्मेलनमा ४० देशका ७३५ प्रतिनिधि सहभागी भएका थिए । यस्तै ३०० विदेशी कम्पनी, ६०० नेपाली सहभागी भएका थिए भने १०० वटा स्वदेशी कम्पनीले सहभागिता जनाए ।
गैर आवासीय नेपाली संघले भने विगत ३ वर्ष पहिल्यै घोषणा गरेको १० अर्ब बराबरको परियोजनाको पुनः घोषणा गरेको थियो । सरकारले सम्मेलन अपेक्षित रुपमा सफल भएको दावी गरेपनि लगानीकर्ताले नेपालको अवस्था र लगानीमैत्री वातावरणका बारेमा जानकारी पाए कि पाएनन् भन्नेृ नै थाहा हुन सकेको छैन । यद्यपी अर्थमन्त्री डा युवराज खतिवडाले भने सम्मेलनको प्रभाव केही समयपछि देखिने बताएका छन् । सम्मेलनका क्रममा उनको प्रस्तुी पनि अन्य वक्ताको भन्दा फितलो देखिएको थियो । उनले कुने पनि विषयलाई प्रष्टसँग राख्न सकेका थिएनन् ।
प्रतिक्रिया