एजेन्सी – राष्ट्रिय टोलीमा गोल गर्न नसक्दा आलोचित बनेका कप्तान लियोनल मेस्सीको दुई गोलमा बार्सिलोनाले स्पेनिस ला लिगामा स्पान्योललाई २–० गोलले पराजित गरेको छ । एक साताको आरामपछि खेलमा फर्केका उनले आफ्नो प्रभाव जमाउन सफल भएका हुन् । नौ महिनापछि राष्ट्रिय टोलीमा फर्केका मेसी भेनेजुएलासँगको मैत्रीपूर्ण खेलमा प्रर्दशन गर्न नसक्दा पराजित भएको थियो ।
शनिबार राति भएको प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको दोस्रो हाफको ७१ औं मिनेटमा मेस्सीले फ्रिकिक मार्फत उत्कृष्ट गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । स्पान्योलका भिक्टर सान्चेजले मेस्सीलाई डिबक्स छेउमा लडाएपछि मौका पाएको थियो ।
खेलको ८९ औं मिनेटमा मेसीले दोस्रो गोल गर्दै बार्सिलोनाको जित सहज बनाए । उनले माल्कमको पासमा दोस्रो गोल गरेका थिए । शीर्ष स्थानमा रहेको बार्सिलोनाले जितसँगै २९ खेलबाट ६९ अंक बनाएको छ । बार्सिलोना दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिडभन्दा १० अंकअगाड िछ । ३४ अंक बनाएको स्पान्योल १४ औं स्थानमा छ ।
शनिबार राति नै भएको अर्को खेलमा एट्लेटिकोले डिर्पोटिभो अलाभेसलाई ४–० गोलले हराएको छ । एक पक्षीय जितसँगै एट्लेटिकोले २९ खेलबाट ५९ अंक बनाएको छ । अलाभेस ४४ अंक सहित पाँचौं स्थानमा छ । अर्को खेलमा लेगानेसले गेटाफेलाई २–० गोल तथा सेल्टाभिगोले भिल्लारियललाई ३–२ गोलले हरायो ।
प्रतिक्रिया