काठमाडौँ – दक्ष एवं काम गर्न सक्ने जनशक्तिको उपलब्धता, राजनीतिक स्थायित्वसहितको स्थिर सरकार, लगानीमैत्री वातावरण भएकाले नेपाल समकालीन विश्वको सबैभन्दा आकर्षक गन्तव्यका रुपमा रहेको सरोकारभएका व्यक्तिले जोड दिएका छन् ।
अन्तर्राष्ट्रिय लगानी सम्मेलनका क्रममा आज आयोजित नेपालमा लगानीः अनुभव आदानप्रदान सत्रमा सहभागी उद्योगी, व्यवसायी तथा लगानीकर्ताले एकै स्वरमा प्राथमिकताका साथ भन्नुभयो, “नेपाल लगानीका लागि उपयुक्त मुलुक हो ।”
नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, एशियाली विकास बैंक, बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपाल, सतलज विद्युत् निगमका प्रतिनिधिले नेपालमा लगानी गर्दा उच्च प्रतिफल प्राप्त गर्न सकिने बताए ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणाले नेपाल राजनीतिक सङ्क्रमण पार गरी आर्थिक विकासको चरणमा प्रवेश गरेको र वर्तमान सरकारसँगै निजी क्षेत्र पनि ठूला परियोजनामा निर्माण गर्ने तयारीमा जुटेको बताए । श्रम गर्न सक्ने जनशक्ति पर्याप्त मात्रामा रहेको, विद्युत् भार कटौतीको समस्या हल भएको, औद्योगिक वातावरण निर्माण भएको उल्लेख गर्दै उहाँले नेपालमा लगानीको उपयुक्त समय आएको बताए ।
वैदेशिक लगानी भित्र्याउन एकदार प्रणाली लागू गरेको, नेपालमा स्थापित भइसकेका केही बहुराष्ट्रिय कम्पनी युनिलिभर, टेलिकम्युनिकेशन कम्पनीलगायतले उचित मुनाफा आर्जन गरिरहेको सन्दर्भ पेश गर्दै अध्यक्ष राणाले सम्पूर्ण लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गर्नुभयो । उहाँले नेपालमा विभिन्न क्षेत्रमा लगानीका लागि पर्याप्त अवसर रहेको बताए ।
नेपालले छिमेकी मुलुक चीन र भारतसँग झण्डै आठ हजार ८०० नेपाली उत्पादन निकासी गर्दा भन्सार महशुल छुट दिने गरी सहमति गरेको जानकारी दिँदै उहाँले त्यस्तो सुविधाले यहाँ उत्पादित वस्तुलाई बजारको अभाव नहुने प्रष्ट्याए।
गैरआवासीय नेपाली सङ्घ ९एनआरएन० का संस्थापक अध्यक्ष उपेन्द्र महतोले नेपाल वैदेशिक लगानीका लागि सुरक्षित र भरपर्दो मुलुक भएको उल्लेख गर्दै भने, “नेपाल लगानीका लागि उपयुक्त ठाउँ हो, आउनुस् लगानी गर्नुहोस् ।” नेपालमा लगानी गरेर विश्वमै उच्च नाफा लिन सकिने मुलुकका रुपमा रहेको भन्दै उहाँले समस्या हरेक देशमा हुने भए पनि पछिल्ला दिनमा भने यहाँ खासै लगानीका लागि व्यवधान नरहेको प्रष्ट पारे ।
नेपाली जनता र यहाँको सरकारी संयन्त्र सहजरुपमा उपलब्ध हुने भएकाले लगानीका लागि कुनै झन्झट व्यहोर्नु नपर्ने उहाँले बताउनुभयो । उहाँले विश्वका विकसित देशमा समेत एक बैंकबाट अर्को बैंकमा रकम स्थानान्तरण गर्न असजिला प्रक्रिया छन् तर नेपालमा त्यस्तो नभएको अनुभव सुनाए ।
एशियाली विकास बैंक (एडिबी) का उपाध्यक्ष सिजिन चेनले मध्यमस्तरको आय भएको मुलुकमा रुपान्तरणका लागि नेपालले भौतिक पूर्वाधारका क्षेत्रमा ठूलो लगानी गर्नुपर्ने औँल्याउनुभयो । एडिबीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, मेलम्ची खानेपानी आयोजना, भूकम्पबाट क्षतिग्रस्त विद्यालयका भवन पुनः निर्माणलगायत विभिन्न परियोजनामा लगानी गरेको जानकारी दिँदै उनले नेपालको विकासका लागि थप लगानी गर्न तयार रहेको बताए।
बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपालका प्रबन्ध निर्देशक आशिष रायले नेपाली लगानी गरेर आफूहरुले उच्च प्रतिफल प्राप्त गरेको अनुभव सुनाउँदै यहाँ उपलब्ध शिक्षित जनशक्तिलाई प्रयोग गरेर अन्य क्षेत्रमा समेत मुनाफा आर्जन गर्न सकिने बताए।
सतलज जविद्युत् निगमका अध्यक्ष नन्दलाल शर्माले नेपालमा जलविद्युत् क्षेत्रमा लगानी गर्दा उच्च प्रतिफल प्राप्त हुने देखेर आफूहरु लगानीका लागि प्रेरित भएको बताए। सतलजले अरुण तेस्रो जलविद्युत् आयोजनामा गरेको लगानीले आगामी पाँच÷छ वर्षदेखि प्रतिफल दिने र बाँकी अवधिको भने पूरै मुनाफा हुने भन्दै नेपालको जलविद्युत् क्षेत्रमा लगानीका लागि आग्रह गर्नुभयो । उहाँले नेपालका कूल जलविद्युत् क्षमताको ५० प्रतिशत हिस्सा मात्र उत्पादन गर्न सके १०÷१५ वर्षभित्र नेपालीको प्रतिव्यक्ति आय चार गुणा बढ्न सक्ने सम्भावना औँल्याए।
नेपाल उद्योग परिसङ्घका अध्यक्ष हरिभक्त शर्माले नेपालको मौसमको अवस्थाले जुनसुकै अवस्थामा पनि सहजै काम गर्न सकिने वातावरण रहेको उल्लेख गर्दै मौसमका कारण काम बन्द गरेर बस्नुपर्ने अवस्था नआउने बताए । उनले भने, “नेपालको मौसम विश्वकै एकमात्र त्यस्तो मौसम हो, जहाँ मानिस स्वीटर र वातानुकूलित वातावरण बिना बस्न सकिन्छ, विश्वमा यस्तो वातावरण कही पनि छैन ।” नेपालको मौसमबाट विश्वका सबै मानिस प्रभावित हुने गरेका छन् ।
उच्च मूल्यका कृषि तथा जडीबुटीको उत्पादन गर्न सकिने सम्भावनाले युक्त भएको मुलुक भएको उल्लेख गर्दै उनले यस क्षेत्रबाट उच्च मुनाफा आर्जन गर्न सकिने बताए । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले लगानीको सुरक्षा गर्छ भनेर प्रतिबद्धता जनाउनुभएको सन्दर्भ उल्लेख गर्दै उनले ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरे । उनले नेपालमा लगानी गर्ने सन्दर्भमा विदशी लगानीकर्तालाई लगानीको विविध आयामबारे जानकारी हासिल गर्न उद्योग परिसङ्घसँग छलफल गर्न आह्वान गरे ।
प्रतिक्रिया