किसानद्वारा दूधको भाउ बढाउन माग

७ बर्ष अगाडि

लमही –  स्थानीय पशुपालक किसान तथा दूध व्यवसायीले दूधको भाउ बढाउन तुलसीपुर उपमहानगरपालिकाका प्रमुखसँग माग गरेका छन् । 
अहिले दानाको मूल्य बढे पनि दूधको मूल्य नबढ्दा किसान मारमा परेको पशुपालक तथा दूध व्यवसायी रमेश गिरीले बताउनुभयो । “अहिले गाई तथा भैँसीको दूध प्रतिलिटर रु ५० मात्रै पर्छ तर दाना प्रतिकिलोको करीब रु ४५ सम्म पर्छ”, उनले भने । “यसले किसानलाई प्रतिलिटरमा रु पाँचभन्दा बढी आम्दानी हुँदैन ।” दश लिटर दूध दिने पशुलाई करीब पाँच किलो दाना खुवाउनु पर्ने भएकाले उपमहानगरपालिकाले दानामा सहुलियत उपलब्ध गराउनाका साथै दूधको मूल्यवृद्धि गरेर खुद्रा मूल्य प्रतिलिटर रु ७० र थोक मूल्य प्रतिलिटर रु ६० तथा दहीको खुद्रा मूल्य प्रतिकिलो रु ८० बनाउनुपर्ने बताए । 

अर्का व्यवसायी लोकराज डाँगीले पशुमा महामारी रोग न्यूनीकरणका लागि उपमहानगरपालिकाले खोपको व्यवस्था गर्नुपर्ने बताउनुभयो । “अहिले हामीले जोखिम मोलेर पशुपालन गरिरहेका छौँ”, उहाँले भने, “अब उपमहानगरपालिकाले त्यो जोमिख हटाउन खोपको व्यवस्था गर्नुपर्छ ।” 

दूध व्यवसायी देवराज भण्डारीले पशुको कृत्रिम गर्भाधान निःशुल्क नगरिँदा किसान मारमा परेको बताए। “अहिले कृत्रिम गर्भाधान गर्न रु ७०० भन्दा बढी तिनुपर्छ”, उनले भने, “कुनै पशुमा एकै पटकमा कृत्रिम गर्भाधान सफल नहुने भएकाले दोहो¥याउँदा र ते¥याउँदा आर्थिक भार थपिने गरेकोे उनको भनाइ थियो । 

तुलसीपुर उपमहानगर प्रमुख घनश्याम पाण्डेले पशुपालन क्षेत्रलाई उपमहानगरपालिकाले विशेष जोड दिएकाले किसानका समस्या समाधानतर्फ आफू लागिपर्ने बताए । उहाँले पशुमा लाग्ने विभिन्न रोग निवारणका लागि खोपको व्यवस्था गर्ने प्रतिबद्धता जनाउनुभयो । दानामा सबै किसानलाई एकमुष्ट रु पाँचलाख अनुदान दिने र त्यसैबाट किसानले आफैँले दाना खरीद गरेमा सहुलियत मिल्ने उहाँको भनाइ थियो । त्यस्तै कृत्रिम गर्भाधान, दूधको मूल्य तथा दानाको मूल्य समायोज र प्रदेश तथा केन्द्र सरकारबाट आउने अनुदानका बारेमा पनि आफूले छलफल गरेर पशुपालक किसानका समस्या समाधान गर्ने उपमहानगर प्रमुख पाण्डेले बताए । 
 

७ बर्ष अगाडि

प्रतिक्रिया