कृषकलाई हाते ट्र्याक्टर

७ बर्ष अगाडि

गोरखा  – गोरखा नगरपालिका–२ र ३ ले किसानका लागि अनुदानमा हाते ट्र्याक्टर वितरण गरेको छ । वडाभित्र कृषियोग्य जमीन बाँझो नराख्न किसानलाई हौसला प्रदान गर्न दुई वडाले गाँउभरी पहुँच पुग्नेगरी कृषि समूहलाई ५० प्रतिशत अनुदानमा हाते ट्र्याक्टर वितरण गरेको हो । 

दुबै वडामा गरी २० कृषि समूहलाई ट्र्याक्टर वितरण गरेको वडा नं– ३ का वडाध्यक्ष रामबहादुर बोगटीले जानकारी दिए । “गाँउमा धेरै खेतीयोग्य जमीन विस्तारै बाँझो हँुदै जान थाल्यो”, वडाध्यक्ष बोगटीले भने, “खेती गर्नका लागि गोरु पाइनै छाडेपछि किसानले करेसाबारी समेत बाँझै राख्न थाले, हौसला प्रदान गर्न अनुदानमा हाते ट्र्याक्टर वितरण गरिएको हो ।” कार्यालयले सबै समूहलार्ई निवेदनका लागि आह्वान गरेर आवश्यकताका आधारमा अनुदानमा ट्र्याक्टर वितरण गराएको उनको भनाइ छ । 

“हामीले चालु आर्थिक वर्षमा १२ समूहलार्ई मात्र वितरण गर्ने गरी निवदेन आह्वान गरेका थियौं”, उहाँले भन्नुभयो, “यहाँ १२ मात्रै निवेदन परेपछि आवश्यक जानकारी लिएर ट्र्याक्टर वितरण गरेका हौं ।” कृषकलाई वितरण गरिएको ट्र्याक्टर ७।५ हर्सपावर क्षमताका रहेका र उक्त ट्र्याक्टरले प्रतिघण्टा एक रोपनीसम्म जमीन जोत्नसक्ने उहाँले जानकारी दिए । वडा कार्यालयले प्रति ट्र्याक्टर करीब रु ५५ हजारमा खरीद गरी कृषि समूहलाई उपलब्ध गराएको उहाँले जानकारी दिए । 

त्यस्तै वडा नं २ ले वडाभित्र रहेका ११ समूहमध्ये ८ समूहलाई वडा कार्यालयको बजेटबाट अनुदानमा ट्र्याक्टर वितरण गरेको वडाध्यक्ष रमतुल्हा मियाँले जानकारी दिए । बाँकी रहेका तीन टोलले यसअघि नै गोरखा नगरपालिकाबाट अनुदानमा हाते ट्र्याक्टर प्राप्त गरिसकेको उनले बताए । 
 

७ बर्ष अगाडि

प्रतिक्रिया