किन मिल्दैन सरकारकै हिसाब, महालेखाले भन्यो, यस्तो अराजकता सहिदैन

७ बर्ष अगाडि

काठमाडौं । सरकारका निकायकै आर्थिक विवरणमा आकाश जमिनको फरक देखिएको छ ।

महालेखापरिक्षकको कार्यालयले बिहिबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको ५५ औं वार्षिक प्रतिवेदनमा सञ्चित कोषको आर्थिक विवरणमा बाह्य ऋण रु.३९ अर्ब १५ करोड ४५ लाख देखाएको छ ।

नेपाल राष्ट्र बैङ्कले प्रस्तुत गरेको केन्द्रीय ट्रेजरी हिसाबमा वैदेशिक ऋण प्राप्ति रु.४७ अर्ब ८० करोड ६५ लाख रहेको छ ।

महालेखा नियन्त्रक कार्यालयले प्रस्तुत गरेको सञ्चित कोषको आर्थिक विवरण र नेपाल राष्ट्र बैङ्कले प्रस्तुत गरेको केन्द्रीय ट्रेजरी हिसाबमा वैदेशिक ऋण प्राप्ति रु.८ अर्ब ६५ करोड २० लाख फरक परेको छ ।

सरकारी निकायबीचकै हिसाब फरक पर्नाको कारण बारे न त राष्ट्र बैंक केही बताएको छ , न त केन्द्रीय टे«जरीको हिसाब नै मिलेको छ ।

महालेखाले यो हिसाब फरक पर्नाको कारण तत्काल उपलब्ध गराउन सम्वद्ध पक्षलाई निर्देशन दिएको छ ।

यस्तै सञ्चित कोषको आर्थिक विवरणमा वैदेशिक अनुदान रु.४० अर्ब २६ करोड ५५ लाख आम्दानी देखाएको छ । यस्तै नेपाल राष्ट्र बैङ्कले यो वर्ष रु.१४ अर्ब ४७ करोड ६८ लाख अनुदान प्राप्त भएको देखाएको छ । नेपाल राष्ट्र बैङ्कको अनुदान प्राप्ति हिसाबको रु.१७ अर्ब ४५ करोड ५५ लाख फरक देखिएकोले हिसाब मिलान हुनुपर्ने महालेखाको ठहर छ ।

यस्तै गत वर्षसम्म सरकारको मौज्दात रु.२२ अर्ब ६५ करोड १६ लाख ऋणात्मक भएकोमा यो वर्ष रु.४८ अर्ब ६१ करोड ऋणात्मक हुन गई रु.७१ अर्ब २६ करोड १६ लाख ऋणात्मक मौज्दात रहेको छ ।

नगदमा आधारित प्रणाली अवलम्बन गरी तयार गरेको वित्तीय विवरणमा ऋणात्मक मौज्दात देखिँदा वित्तीय विवरण यर्थाथ नभएको भन्दै महालेखाले हिसाब मिलान गर्न भनेको छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया