काठमाडौँ –प्रधानमन्त्री केपी शर्मा ओलीले लगानीकर्ताहरुलाई नेपालमा ढुक्कसँग लगानी गर्न आह्वान गरेका छन् ।
राजधानीमा लगानी सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले वर्तमान सरकार लगानीकर्ताहरुको लगानी सुरक्षित गर्न र नाफा सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताउँदै ढुक्कसँग लगानी गर्न आग्रह गरेका हुन् ।
ओलीले नेपालमा पाहुनाहरुलाई भगवानको रुपमा स्वागत गरिने उल्लेख गर्दै नेपालमा लगानीकर्ताहरुका लागि अवसरनै अवसरहरु भएको जिकिर गरेका हुन् । उनले नेपाल विदेशी लगानीकर्ताहरुका लागि दोस्रो घर र व्यवसायको हब बन्ने दाबी समेत गरे ।
‘एक वर्षअघि रारा तालको किनारबाट नेपालको विकासको खाका प्रस्तुत गर्दा मैले हाम्रा मित्र तथा हितैसीहरुसँगको सहकार्य आवश्यक रहेको कुरामा जोड दिएको थिएँ,’ प्रधानमन्त्री ओलीले भने, ‘आज यो सम्मेलनमा हाम्रो निमन्त्रण स्वीकार गरेर महत्वपूर्ण कार्यक्रममा सहभागी आउनुभएका मित्रहरुलाई देख्दा निकै खुसी लागेको छ ।’
प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा कल्पना नभएर पूरा गर्न सकिने दृष्टिकोण भएको बताउँदै यसका लागि सबैको साथ आवश्यक रहेको बताए । उनले अब नेपालमा हिंसाको लागि कुनै स्थान नभएको बताउँदै कानुनी व्यवस्थामा खलल पुर्याउनेहरुलाई कानुन बमोजिम कारवाही गरिने बताए ।
‘हाम्रो तत्कालीन लक्ष्य भनेको कम विकसित मुलुकको तहभन्दा माथि उठ्ने, मध्यकालिन लक्ष्य भनेको मध्य–आय भएको मुलुकको स्थितिमा पुग्ने र सन् २०३० सम्म दिगो विकास लक्ष्य हासिल गर्ने हो,’ प्रधानमन्त्रीले भने ।
यसका लागि दुई अंकको आर्थिक वृद्धिदर हासिल गर्नु आवश्यक रहेको बताउँदै प्रधानमन्त्री ओलीले राष्ट्रिय योजनाको आयोगको तथ्यांक अनुसार आगामी पाँच वर्षमा नेपालमा ८८.१८ बिलियन डलर लागनी आवश्यक रहेको बताए । ‘यो आवश्यकता पूरा गर्नका लागि सबैलाई सहयोग गर्न म आग्रह गर्दछु प्रधानमन्त्रीले भने ।’
प्रतिक्रिया