काभ्रेपलाञ्चोक-अत्यधिक गतिमा दौडने माइक्रो तथा टाटा सुमो सडक दुर्घटनाको प्रमुख कारक बन्दै गए पनि राजमार्गका प्रहरी चौकीलाई भने आम्दानीको गतिलो स्रोत बन्न थालेका छन् ।
काभ्रे–सिन्धुपाल्चोकका सडकमा ट्रिपर मात्रै प्रहरीका अवैध स्रोत नभएर पछिल्लो समय माइक्रो र टाटा सुमो पनि मासिक रूपमा रकम असुल्ने माध्यम बनेका छन् ।
काभ्रेको कोसीपारिमा ओभरलोडका कारण केही वर्षअघि २७ जनाको ज्यान गएपछि यात्रुवाहक सवारीमा कडाइ गरेको प्रहरीले लामो तथा छोटो दूरीका सवारीमा अवैध रूपमा कमाउने धन्दा सुरु गरेसँगै यात्रुहरूको यात्रा भने असुरक्षित बन्न थालेको छ ।
काभ्रेमा मात्रै होइन, पूर्व–मेचीदेखि परमिटबिनै राजधानीसम्म माइक्रो निर्धक्क गुड्ने गरेका छन् । प्रहरीका दर्जनौं चेकपोस्ट छल्दै राजधानीमा माइक्रो भित्रिए पनि प्रहरी भने मौन देखिँदै आएको छ ।
माइक्रो चालकहरूले स्थानीय होटल तथा खाजाघरसँगको मिलेमतोमा प्रहरीसँग सेटिङ गरी परमिटबिनै गाडी गुडाइरहेका छन् । बीपी राजमार्गमा सञ्चालित माइक्रो बसहरू पछिल्लो समय ट्राफिक प्रहरीको आम्दानीको प्रमुख स्रोत हुन् । अझ पछिल्लो समय बैंकहरूले हायर पर्चेजमा लगानी कम गरेसँगै रुट परमिट कागजपत्र नभएका माइक्रो बीपी राजमार्गमा दौडने गरेका छन् । परमिटबिनाका गाडीका कारण यात्रुहरू उच्च जोखिममा यात्रा गर्न बाध्य छन् । चालकले सवारीसाधनको परमिट नै नभए पनि राजमार्गमा खोलिएका होटलमा खाजा तथा खाना खुवाउने सर्तमा प्रहरीसँग कुरा मिलाउने गरेका छन्, राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया