काठमाडौं – महानगरीय प्रहरी आयुक्त कार्यालयको तथ्याङ्कअनुसार गएको साउनयता मात्र प्रहरीले ९० ओटा जुवाखालमा छापामारी आठ सय छ जनालाई पक्राउ गरेको छ ।
विवरणअनुसार विगतका वर्षभरि हुने पक्राउ र कारबाहीभन्दा बढी चालू आर्थिक वर्षको आठ महिनामा प्रहरीले जुवा खेल्ने तथा खेलाउनेलाई कारबाही गरेको छ ।
प्रहरीका अनुसार साउनयता काठमाडौंबाट छ सय ३२ जना, भक्तपुरबाट एक सय ४८ जना र ललितपुरबाट २६ जना गरी आठ सय छ जना जुवाडेलाई पक्राउ गरी जुवा ऐनमा मुद्दा चलाइएको छ । प्रहरीले उनीहरुबाट एक करोडभन्दा बढी रकम बरामद गरेको छ ।
प्रहरीले काठमाडौंका जुवाखालबाट ८४ लाख ८१ हजार २१ रुपैयाँ बरामद गरेको छ । त्यसैगरी भक्तपुरबाट १३ लाख ८५ हजार तीन सय ९६ रुपैयाँ तथा ललितपुरबाट एक लाख चार हजार चार सय ९० रुपैयाँ बरामद गरेको छ । प्रहरीले उपत्यकाका तीन ओटै जिल्लाबाट गरी ९० ओटा मुद्दा जुवा ऐनमा दायर गरेको छ । गत साउनयता उपत्यकामा जुवा कारबाहीमा प्रहरीले सक्रियता देखाएको छ ।
पहिला प्रहरीले आफै सूचना बटुलेर जुवाखालमा छापा हान्ने गरेको थियो, तर अहिले नागरिक आफै जुवाखालका बारेमा सूचना दिन्छन् । त्यसैले पनि प्रहरीलाई कारबाही गर्न सहज भएको बताइएको छ ।
प्रहरीले उपत्यकामा भएका जुवाखालमाथि गरिने कारबाहीलाई तीव्रता दिन थालेपछि जुवा खेलाउनेहरुले पनि विभिन्न जुक्ती लगाउन थालेका छन् ।
केही समयअघि काठमाडौं प्रहरीले ज्ञानेश्वरमा फ्ल्याटै भाडामा लिएर जुवा खेलाउने मारवाडी समुदायका केही व्यक्ति पक्राउ गरेको थियो ।
स्थायी रुपमा खेलाउने र गेस्ट हाउसमा चलाइने जुवाखालमा प्रहरीले कारबाही बढाएपछि मोबाइल जुवा सुरु भएको बताइन्छ ।
उपत्यकामा जुवा खेलाउने केही प्रोफेसनल समूह छन, जसले हप्ता दस दिनको अन्तरालमा मान्छे बटुल्ने, होटल तथा पार्टी प्यालेस भाडामा लिने अनि जुवा लेखाउँदै हिँड्ने गर्छन ।
प्रतिक्रिया