भक्तपुर – मध्यपुरथिमि नगरपालिकाले आफ्नो स्थापना दिवसमा सार्वजनिक बिदा दिने भएको छ । नगरपालिकाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा नगर प्रमुख मदनसुन्दर श्रेष्ठले नगरपालिकाले आफ्नै क्यालेण्डर बनाएर पर्व बिदासमेत थप गर्ने तयारी गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “स्थानीय सरकारका रूपमा नगरपालिकाले आफ्नै क्यालेण्डर बनाउने र स्थापना दिवसलगायत बिस्केट जात्रामा चार दिन तथा अन्य स्थानीय पर्वमा बिदा दिने गरी क्यालेण्डर निर्माण गरेका छाँै ।” पत्रकार सम्मेलनमा नगरपालिकाका प्रवक्ता एवं वडा नं २ का अध्यक्ष राम थापामगरले नगरपालिकाले भोलि १४ गते आफ्नो २३ औँ स्थापना दिवस मनाउने भएको बताउनुभयो ।
उहाँले स्थापना दिवसमा नपाले नौवटै वडाका एक एक महिला र पुरुष गरी १८ जना ज्येष्ठ नागरिकताको स्वास्थ्य बीमाको रकम व्यहोर्ने भएको बताउनुभयो ।
त्यसैगरी प्रत्येक वडाबाट सामुदायिक विद्यालयमा पढ्ने तीनतीन जना गरीब एवं जेहेन्दार विद्यार्थीलाई वार्षिक रु चार हजारको दरले छात्रवृत्ति दिने, मध्यपुरका वरिष्ठ एक साहित्यकारलाई सम्मान गर्ने र नपालाई तिर्नुपर्ने राजश्व नियमितरूपमा तिर्ने तथा सबैभन्दा बढी राजश्व तिर्ने सेवाग्राहीमध्ये एक महिला र एक पुरुषतर्फ उत्कृष्ट करदातालाई सम्मान गर्ने प्रवक्ता थापामगरले बताउनुभयो ।
स्थापना दिवसमा सीपमूलक तथा रोजगारमूलक तालीमका सहभागीले तयार गरेको वस्तु तथा उत्पादनको प्रदर्शनी एवं नगरपालिकाका विभिन्न गतिविधिको तस्वीरको प्रदर्शनी राखिने भएको छ ।
प्रतिक्रिया