काठमाडौँ – तत्कालिन ग्राण्ड बैंक नेपालका प्रमुख कार्यकारी, सञ्चालक समितिसहित १० जना विरुद्ध अनुसन्धान सुरु भएको छ । उनीहरुले रु एक अर्ब भन्दा बढि घोटाला गरेको भन्दै नेपाल राष्ट्र बैंकको सिफारिसमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूराले अनुसन्धान थालेको हो ।
राष्ट्र बैंकले आवश्यक अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि सिफारिस गरेको छ । राष्ट्र बैंक उच्च स्रोतहरुका अनुसार तत्कालिन प्रमुख कार्यकारी अधिकृत सुधिरबाबु खत्री, सञ्चालक समिति अध्यक्ष स्वरुप गुरुङ कोनेलगायत सञ्चालक र उच्च व्यवस्थापनले बैंकिङ घोटाला गरेको बिषयमा अनुसन्धान गर्न लेखेर पठाइएको छ ।
बैंकले खासगरी रियलस्टेट, एयरलाइन्सलगायतमा प्रवाह गरेको ऋण दुरुपयोग गरिएको राष्ट्र बैंकको आरोप छ। अहिले ग्राण्ड बैंकलाई प्रभु बैंकले गाभिइसकेको छ । विस २०७२ फागुनमा प्रभुले ग्राण्डलाई गाभेको थियो।
गाभिएपछि पनि ग्राण्डतिरबाट लगानी भएर डुबेको ऋण उठ्न सकेको छैन। केही सञ्चालकहरुले भने केही ऋण भूक्तानी गरेको भन्दै राष्ट्र बैंकलाई जानकारी गराएका छन ्। राष्ट्र बैंकको कारवाही सिफारिसमा सिम्रिक एयरका अध्यक्ष क्याप्टेन रामेश्वर थापाको पनि नाम छ । यसैगरी केही जग्गा कारोबारीहरुमाथि पनि आवश्यक अनुसन्धान गरी कारवाही अगाडि बढाउन राष्ट्र बैंकले सिआइबीलाई आग्रह गरेको छ ।
बैंकिङ ऋण दुरुपयोग हुँदा राष्ट्र बैंकको सिफारिसमा सिआइबीले अनुसन्धान गरी पाटन उच्च अदालतमा मुद्दा चलाउँछ । सिआइबी स्रोतका अनुसार अब केही दिनभित्रै आरोपितहरुलाई बयानका लागि झिकाउने तयारी भइरहेको छ।
प्रभुले गाभेपछि एकिकृत कारोबारको उद्घाटन गर्दै गभर्नर डा. चिरञ्जिबी नेपालले ढल्न लागेको बैंकलाई जोगाउन पाएकोमा खुसी लागेको बताएका थिए। ०७२ फागुन १ गते एकिकृत कारोबार भएको थियो ।
प्रतिक्रिया