चितवन–भरतपुर महानगरपालिका र चीनको सेन्ट्रल साउथ विश्वविद्यालयबीच शैक्षिक सहकार्य गर्ने सम्झौता भएको छ ।
भरतपुर महानगरपालिका भित्रका गरिब तथा जेहेन्दार विद्यार्थीहरुको शैक्षिकस्तर वृद्धि गर्न भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल र सियाङ्या नर्सिङ स्कुल सेन्ट्रल साउथ विश्वविद्यालय डिन प्रोफेसर थाङ सियुआनबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
सेन्ट्रल साउथ विश्वविद्यालय चीनको एक ख्यातिप्राप्त विश्वविद्यालय हो । स्नातकोत्तर र विद्यावारिधिमा २१७ वटा शैक्षिक कार्यक्रम र स्नातक तहमा ९४ वटा शैक्षिक कार्यक्रम संचालन भएको यस विश्वविद्यालयले भरतपुर महानगरपालिकाभित्रका गरीब, असहाय तथा जेहेन्दार करिब २० जना विद्यार्थीलाई पूर्ण र ५० जनालाई आंशिक छात्रवृत्ति प्रदान गर्ने सहमति भएको हो ।
सो अवसरमा बोल्दै सियाङ्या नर्सिङ स्कुल सेन्ट्रल साउथ विश्वविद्यालय डिन प्रोफेसर थाङ सियुआनले नेपालमै पहिलो पटक भरतपुरमा आफुहरुले सहकार्य गरेको उल्लेख गर्दै चीन र नेपालको सम्बन्धमा यो सहकार्य कोसेढुगां सावित हुने बताए ।
यस्तै मेयर रेणु दाहाले सहमतिपछि चीन र नेपालबीचको सम्बन्धमा थप प्रगाड बनेको बताईन् ।साथै चाईनाको विकासका मोडललाई भित्राउन आफु उत्सुक रहेको उल्लेख गरिन् ।
प्रतिक्रिया