काठमाडौं – कामचोर र केवल हल्ला मात्र गर्ने, देश र जनताको पक्षमा वरको सिनको पर समेत सार्न नसक्ने मन्त्रीहरुलाई बर्खास्त गर्ने तयारीमा सरकार लागेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष प्रचण्डबीच सरकारमा सहभागी मन्त्रीको फेरबदलका विषयमा पटक पटक छलफल भएका छन् ।
पछिल्ला दिनमा सरकारको काम कारवाहीलाई लिएर चौतर्फी रुपमा आलोचना हुन थालेपनि केही मन्त्रीको जागिर खोस्ने तयारीमा प्रधानमन्त्री ओली र पार्टी अध्यक्ष प्रचण्डबीच छलफल भएको हो । सरकारको काम कारवाही प्रभावकारी हुन नसक्दा जनतामा चरम निराशा फैलिइरहेको भन्दै केही कामचोर मन्त्रीलाई हटाएरै भएपनि अमन चयन कामय गराउने र जनताको पक्षमा केही न केही काम गर्ने सोच राखिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री र पार्टी अध्यक्ष बीच छलफललाई आधार मान्ने हो भने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, महिला बालबालिका तथा समाज कल्याण मन्त्री थममाया थापा, , सूचना तथा सञ्चार मन्त्री गोकूलप्रसाद बाँस्कोटा, वन मन्त्री शक्ति बस्नेत, खानेपानी मन्त्री बिना मगरलगायतलाई मन्त्रीबाट बर्खास्त गर्ने तयारी गरिएको छ । यस्तै कार्यक्षमताका आधाम हेर्ने हो भने रक्षामन्त्री इश्वर पोखरेललाई पनि हटाउनुपर्ने सुझाव धेरै स्थानबाट आएको छ । यस्तै नेपालको अर्थ व्यवस्था ध्वस्त बनाएको तथा सरकारको बजेटमा कुनै पनि जनपक्षीय कार्यक्रम समेत समावेश नगरी विदेशी विशेष गरी साम्राज्यवादी कित्ताको पक्षपोषण गरेका अर्थमन्त्री डा युवराज खतिवडालाई समेत मन्त्री पदबाट हटाउने तयारी गरिएको छ ।
यस्तै व्यवसायीसँग केवल चन्दा उठाउने र आफूखुसी गर्दै आएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठको पनि जागिर खोस्ने तयारी गरिएको छ । सम्भवतः लगानी सम्मेलन वा सो भन्दा अगावै पनि केही मन्त्रीको जागिर खोसिने भएको छ । हवाई जहाज दुर्घटनमा मृत्यु भएका रवीन्द्र अधिकारीको स्थानमा कसलाई अगाडि बढाउने भन्ने बारेमा हालसम्म कुनै निर्णय भने भएको छैन । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीच मन्त्री परिवर्तन गर्नेबारे पछिल्ला दिनमा पटक पटक छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार र बुधबार समेत छलफल भएको दुई अध्यक्षबीचको भेटमा मन्त्रिमण्डल पुर्गठन गर्नेबारेमा छलफल भएको हो । नेकपा अध्यक्ष प्रचण्डले मन्त्रिमण्डल पुनर्गठन गर्ने विषयमा आफू र प्रधानमन्त्री ओलीबीच छलफल भएको खुलासा गरेका हुन् । विराटनगरमा मंगलबार र बुधबार पनि उनले मन्त्रीपरिषद्का सदस्यको परिवर्तनको विषयमा छलफल भएको बताएका थिए । प्रचण्डले प्रधानमन्त्री ओलीसँग मन्त्रिमण्डल पुनर्गनका विषयमा छलफल भएको बताए ।
‘यो कुरा प्रधानमन्त्रीजीले कसरी हिसाव गर्नुहुन्छ, त्यसमा बढी भर पर्छ । हाम्रो सिस्टम भनेको प्रधानमन्त्रीकै छ । उहाँले कसरी मूल्यांकन गर्नुहुन्छ, त्यसमा भर पर्छ’, प्रचण्डले भने, ‘ मन्त्री परिवर्तनको विषयमा प्रधानमन्त्रीसँग कुराचाहिँ भएको छ ।’ प्रचण्डले मन्त्री फेर्ने वा पुनर्गठन गर्ने जिम्मेवारी प्रधानमन्त्रीलाई नै दिइएको पनि जानकारी दिए । ‘प्रधानमन्त्रीजीको म हेरिरहेको छु भन्ने भनाई रहेको छ । मैले यो तपाईकै मूल्यांकनमा भर पर्ने कुरा हो आवश्यक निर्णय गर्नुस् भनेको छु, यो तपाईको कार्यक्षेत्र पनि उहाँकै हो ।’ प्रचण्डले भनेका छन् ।
अर्को प्रसंगमा उनले संविधानले दिएको व्यवस्था अनुसार प्रदेशलाई अधिकार दिइने पनि बताए । सरकारले अधिकार दिने र खोस्ने भन्ने कुरा नहुने भन्दै प्रदेशलाई संविधानअनुसार अधिकार दिइनुपर्छ भन्ने आफ्नो भनाई रहेको प्रचण्डले बताएका थिए । कामचोरलाई हटाएर अलिक बढी इमान्दार र केही गरौ भन्ने क्षमता भएका केही सबल नेतालाई मन्त्री मण्डलमा समावेश गर्ने तयारी गरिएको छ । त्यसले पक्कै पनि केही न केही सकारात्मक परिणाम ल्याउने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया