काठमाडौँ- अल्पविकसित मुलुकमा प्रतिव्यक्ति माछाको वार्षिक उपभोग औसत ११ किलो हुनुपर्नेमा नेपालको उत्पादनले वार्षिक प्रतिव्यक्ति २.९३ किलोमात्र पुग्दछ । विश्वव्यापीरूपमा औसत २० किलो र विकसित मुलुकमा यो औसत उपभोग २८ किलो रहेको माछाविज्ञ रामानन्द मिश्रले जनाए, कारोबार दैनिकमा खबर छ ।
“अहिले ८३ हजार ७ सय टन घरेलु उत्पादन भएको छ । यस आधारमा प्रत्येक व्यक्तिको भागमा २.९३ किलो पुग्छ,” मिश्रले भने । तर, यसमा शाकाहारी जनसंख्या २० प्रतिशतलाई घटाएर हेर्दा पनि वार्षिक उपभोगको औसत ३.५ किलो जतिमात्र हुन आउने उनले जनाए । उनले भने, “लागतको प्रतिफल राम्रो छ । बजारको सम्भावना व्यापक छ ।”
यसैगरी माछामा विद्यावारिधि गरेका प्राध्यापक डा. श्यामनारायण लाभले देशको अर्थतन्त्रमा माछा उत्पादन वृद्धिले टेवा पुग्ने भए पनि यो विशेषरूपले प्रदेश नम्बर २ का लागि निकै महत्वपूर्ण हुने बताए । प्रदेश नम्बर २ मा अझ पनि पर्याप्त जलाशयहरूको अवस्था राम्रो भएकाले यो प्रदेशको समृद्धिका लागि माछा उत्पादनले महत्वूर्ण योगदान दिन सक्ने उनले विश्वास व्यक्त गरे ।
हालैमात्र माछा उत्पादन गर्ने किसानहरूका लागि जनकपुरमा तालिमको आयोजना गरिएको उल्लेख गर्दै डा. लाभले भने, “प्रदेश नम्बर २ का ३२ जना किसानहरूको सहभागीतामा यो तालिमको आयोजना गरिएको थियो ।”
सरकारले यस क्षेत्रको विस्तारका लागि किसानहरूलाई शून्य ब्याजदरमा ऋण उपलब्ध गराउनेजस्ता कार्य गरेको भए पनि यसका लागि ठोस नीति र कार्यक्रमको आवश्यकता रहेको उनले जनाए । उनले भने, “तराईका २२ जिल्लामा सरकारले किसानहरूलाई माछा उत्पादन वृद्धिका लागि ऋण सहयोग गरेको छ । तर, देशमा माछाको व्यवसायिक उत्पादनका लागि चाहिन माछा प्राविधिज्ञहरू नै छैनन् ।”
माछा उत्पादनको अपेक्षित वृद्धिदर भने यो वर्ष केही घट्ने अनुमान विज्ञहरूको छ ।
प्रतिक्रिया