काठमाडौं – सिके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनको राष्ट्रिय परिषद् बैठक बस्ने भएको छ। गत शुक्रबार मात्रै सरकारसँग ११ बुँदे राजनीतिक सहमति गरी मूलधारको राजनीतिमा फर्किएका राउतले गठबन्धनको राष्ट्रिय परिषद् बैठक बोलाएका हुन्।
बैठक आगामी चैत ४ र ५ गते जनकुपुरमा बस्नेछ। गठबन्धनले सरकारसँग गरेको सम्झौतालाई ऐतिहासिक सफलता र विजय भएको बताउँदै यसपछिको रणनीति तय गर्न बैठक डाकेको जनाएको छ।
राष्ट्रिय परिषद् बैठकमा सामेल हुने सबै पार्टी सदस्यलाई चैत ४ गते सोमबार बिहान ७ बजे भित्रै कार्यक्रम स्थलमा आउन सूचित गरिएको छ।
सरकारसँग सहमति गरेको दोस्रो दिनमै गृहनगर जनकपुर पुगेका राउतको गठबन्धनका नेताकार्यकर्ताले भव्य स्वागत गरेका थिए।
राष्ट्रिय परिषद् बैठकले सरकारको सहमतिलाई कसरी अर्थ्याउनेछ र भावी कार्यदिशा कस्तो बनाउनेछ भन्नेमा सबैको चासो रहेको छ।
प्रतिक्रिया