काठमाडौं– सरकारले विप्लव नेतृत्वको नेकपामाथि गम्भीर आरोप लगाएको छ । उच्च सरकारी स्रोतका अनुसार विप्लवको पार्टीले प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष प्रचण्डको हत्या योजना बनाएका थिए । सोही योजनाको सूचना प्रधानमन्त्रीसम्म आइपुगेपछि सरकारले विप्लवको पार्टीमाथि प्रतिबन्ध लगाएको हो ।
पछिल्लो केही सातायता विप्लवको पार्टीले अराजक गतिविधिलाई तीब्र पारेको थियो । यही क्रममा प्रधानमन्त्री विप्लवको पार्टीप्रति आक्रामक रुपमा प्रस्तुत हुँदै आएका थिए ।
यही क्रममा प्रधानमन्त्रीसम्म गम्भीर सुचना आइपुगेपछि मंगलबार सरकारले सो समूहमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
प्रधानमन्त्री ओलीले आफ्नै सुरक्षामाथि गम्भीर खतराको संकेत गरेलगत्तै गृहमन्त्री बादलको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले विप्लवमाथि प्रतिबन्ध लगाउने निर्णय क्याबिनेटले गरेको बताइएको छ ।
बैठकमा प्रधानमन्त्रीले यसबारे मन्त्रीहरुसामु ब्रिफिङ नै गरेको स्रोतको दाबी छ । पक्राउ परेका कार्यकर्तामार्फत सुरक्षा निकायले ओली प्रचण्डको हत्यासम्बन्धी लिखित निर्णय नै प्राप्त गरेको दाबी गरिएको छ ।
यद्यपि सरकारको यो निर्णयले फेरि मुलुकमा द्धन्द्धको खतरा बढेको छ । सरकारको निर्णय लगत्तै विप्लवले सरकारी निर्णयको प्रतिवाद गर्ने प्रतिकृया दिएकाले पनि सरकार विप्लवबीच भीडन्त हुने खतरा बढेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार दिउँसो नेपाल बैदेशिक रोजगार व्यावसायी संघको टोलीसँगको भेटघाटमा ध्वंसात्मक गतिविधिमा संलग्न जो कसैलाई कानुनी कारबाही गरिने बताएका थिए ।
शुक्रबार संघका अध्यक्ष रोहन गुरुङको घरमा बम विस्फोट भएको बिषयमा सरकारको ध्यानाकर्षण गराउन बालुवाटार पुगेको व्यवसायीकोे टोलीसँग प्रधानमन्त्री ओलीले बम पड्काउने र पैसा असुल्नेसँग वार्ता नगर्ने बरु कारवाही गर्ने स्पष्ट संकेत दिएका थिए ।
‘कतिपयले वार्ता गर्नुपर्यो भन्छन् तर केका लागि वार्ता गर्ने ? उनीहरुले गरेका क्रियाकलाप राजनीतिक हुन् ?’ आक्रोशित हुँदै प्रधानमन्त्री ओलीले भनेका थिए, ‘बम पड्काउने, आतंकित पार्ने, पैसा असुल्ने कुरा राजनीतिक हुन सक्दैनन् । जहाँ जहाँ धेरै पैसा छ भन्ने लाग्छ, त्यही बम हान्नेहरुसँग के को वार्ता ? उनीहरुलाई कानुन बमोजिम नियन्त्रणमा लिइन्छ ।’
प्रधानमन्त्री ओलीले ‘एउटा गिरोह’ले कम्युनिष्टका नाममा घिनलाग्दो काम गरिरहेकले उसलाई प्रशासनिक कारवाही गर्ने बताएका थिए ।
त्यसो त प्रधानमन्त्री ओलीमात्रै होइन सत्तारुढ दल नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि आजै विराटनगरमा विप्लवलाई प्रचण्ड बन्ने प्रयास नगर्न चेतावनी दिएका थिए ।
यसअघि गत विहीबार स्वतन्त्र मधेस गठबन्धनसँग भएको सहमति घोषणा कार्यक्रममा पनि प्रधानमन्त्री ओलीले विप्लवको पार्टीप्रति आक्रोश पोखेका थिए । उनले सिके राउत राजनीकि मुलधारमा आएलगत्तै द्धन्द्ध समाप्त भएको दावी गरेका थिए । उनले उक्त सभामा चविप्लव नेतृत्वको नेकपालाई मुलुकमा चन्दा आतंक र हिंसाका गतिविधि त्याग्न चेतावनी दिँदै यदि त्यस्ता गतिविधि नत्यागे सरकार कडा कारवाही गर्न बाध्य हुने बताएका थिए ।
पछिल्लो समय विप्लव नेतृत्वको नेकपाले नख्खुस्थित एनसेल कार्यलयमा वम विष्फोट गराउदा एक जनाको ज्यान गएको थियो भने अरु २ जना घाइते भएका थिए । त्यसपछि गत शुक्रबार बैदेशिक रोजगार व्यवसायी महासंघका अध्यक्ष रोहन गुरुङको घरमा पनि विष्फोट गराएको थियो ।
प्रतिक्रिया