काठमाडौं – सरकार सरकार जस्तो छैन, प्रतिपक्ष पनि प्रतिपक्ष जस्तो भएन । नेपाली राजनीतिक बजारमा आजकल हुने टिप्पणी हो यो । सरकार कुहिरोमा हराएको काग जस्तो भएको छ । प्रतिपक्ष आफ्नै गोलचक्करकमा फसेको छ । पछिल्लो समय नेपाली काँग्रेस भित्रको घर झगडा पनि राम्रैसँग मच्चिएको छ । नेपाल विद्यार्थी संघको आवरणमा सुरु भएको झगडाको सार भनेको आगामी वर्ष हुने भनिएको महाधिवेशन नै हो ।
काँग्रेसका सभापति शेरबहादुर देउवा पुनः सभापति बन्ने दाउमा छन् । उनलाई दोहोरिन नदिन उनी विरोधी सबै खेमा एक ठाँउमा उभिएका छन् । कहिले महामन्त्री सशांक कोइरालाको निवामसा भेला हुन्छन् र भन्छन् देउवाले काँग्रेस सके । कहिले प्रकाशमान सिंहको घरमा भेला हुन्छन र भन्छन देउवाले काँगेस सके । कहिले विराटनगरको कोइराला निवासमा भेला हुन्छन् र भन्छन् देउवा र आरजूले काँग्रेस सके ।
पछिल्लो दिनमा रामचन्द्र पौडेलको गुट करिब करिब सकिएको छ । उनी एक्ला बृहस्पति झुट्टा भने जस्तै भएका छन् । विगतदेखि नै उनलाई साथ दिँदै आएकाले समेत उनलाई छाडेका छन् । पछिल्लो समय उनलाई साथ दिएका भनिएकाहरु कोही पूर्व महामन्त्री कृष्ण सिटौलाको खेमामा पुगेका छन् भने कोही कोइराला परिवारको ओत लाग्न पुगेका छन् ।
पछिल्लो समय आरजूका कारण नेपाल विद्यार्थी संघमा भाडभैलो मच्चिएको छ । आफूलाई लोकतन्त्रवादी बताउने काँग्रेसको पार्टी कार्यालयमा नै नेविसंघको नाममा ढुंगा हानाहान मात्रै भएन, एकले अर्कोलाई सिध्याउने सम्मको अवस्था सिर्जना भयो । नेविसंघमा पछिल्लो समय कृष्ण सिटौला समूहको होल्ड देखिएको छ । सिटौला समूहले नेविसंघ कब्जा गर्ने अवस्था आएपछि आरजूले कुनै पनि हालतमा त्यस्तो हुन नदिने भन्दै संस्थापन पक्षका केही नेतालाई चेपेको बताइन्छ ।
उनले साम, दाम, दण्ड भेदको नीति लिएरै भएपनि नेविसंघमा अरुको होल्ड हुन नदिने आश्वासन दिएको काँग्रेसका एक नेताले बताए । आफना भाई छोरा जस्ता नेविसंघका कार्यकर्तालाई उपसभापति विमलेन्द्र निधि र नेता प्रकाशशरण महतले धम्क्याउनुको पछाडि पनि आरजूको भूमिकाले काम गरेको बताइन्छ । आरजूले नै उनीहरुलाई परिचालन गरेको हुन सक्ने काँग्रेसको असन्तुष्ट समूहको दावी छ ।
महाधिवेशनमा पार्टी सत्ता कब्जा गर्ने होडका कारण काँग्रेस भित्रको आगो भूसमा फैलिए जस्तै भएको छ । देउवा केही गरी पनि नछाड्ने , अरुहरु कुनै पनि हालतमा देउवालाई नदिने कारण समस्या बढ्दै गएको बताइन्छ । तर शक्ति र प्रभाव प्रयोग गरेर भएपनि काँग्रेसमा अब एक पटक सभापति जित्ने दौडमा रहेका छन् । उनी पनि नेविसंघको कार्यकर्ताको शैलीमा भाषण गर्न थालेका छन् । उनी संयमित बन्नुपर्नेमा उनी पनि आक्रोशीत भएर भाषण गर्दै हिडेका छन् ।
सभापति भनेको सबैको अभिभावक हो, तर उनले सोही भूमिका समेत बिर्सेर तल्लो स्तरमा गाली गर्दै हिडेका छन् । उनले काँग्रेस कोइराला परिवारको वपौती समेत नभएको बताएका छन् । उनले काँग्रेसलाई अब कोइराला परिवारको हातमा जान नदिने बताएका छन् । कोइराला समूहका नेताहरु आफूहरु एक ठाँउमा रहेको संकेत गरेका छन् । एकै ठाँउमा बसेर माला लगाएका मात्रै छैनन् , सामूहिक फोटो समेत खिचाएका छन् ।
प्रतिक्रिया