बुटबल–गृहमन्त्री रामबहादुर थापा बादलले स्वतन्त्र मधेस गठबन्धनका संयोजक सिके राउतसँग सरकारले गरेको सहमतिलाई गलत रुपमा व्याख्या भइरहेको बताएका छन् ।
आइतबार जनकपुरमा स्वतन्त्र नारा घन्किएको बेला बादल त्यसको बचाउमा लागेका हुन् । रुपन्देहीको भैरहवामा सोमबारदेखि सुरु भएको प्रदेश नम्बर ५ स्तरीय दुई दिने सुरक्षा गोष्ठीमा बोल्दै बादलले जनमत संग्रहबाट राष्ट्रलाई अलग पार्ने सोच सिके राउतमा पनि नभएको बताए ।
‘नेपाल अखण्ड राज्य हो, देशको अखण्डता कायम गर्न प्रतिबद्ध छौं, यो हाम्रो कर्तव्य हो भनेर स्वतन्त्र मधेश गठबन्धनले प्रतिबद्धता जनाएपछि राजनीतिक सहमति भएको हो,’ बादलले भने ।
तर नेतृत्वले आफ्नो कार्यकर्तामा त्यस किसिमको सन्देश सम्प्रेषण गर्न बाँकी रहेकोले आइतबार जनकपुरमा सहमति विपरितको गतिविधि देखिएको दाबी गरे ।
राजनीतिक मुद्दालाई जनअभिमतबाट संविधान संशोधन र राजनीतिक अधिकारलाई पूर्णता दिन सकिन्छ भनेर राउतसँग सहमति भएको गृहमन्त्रीको भनाई छ ।
राज्यविरोधी र व्यवस्था विरोधी तत्त्व र समूहहरुको गतिविधि नियन्त्रण गर्ने र उनीहरुलाई मुलधारमा ल्याउन सरकार निरन्तर प्रयत्नशील रहेको पनि उनले बताए ।
प्रतिक्रिया