काठमाडौँ – उपत्यकाका नदी र चक्रपथ सफाइ गरी १९ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । सफाइबाट सङ्कलन गरिएको फोहर सम्बन्धित क्षेत्रका स्थानीय तहले व्यवस्थापन गर्दै आएका छन् । स्थानीय सरकारले फोहर उठाउन प्रयोग गरेको सवारी साधन प्रयोग भएको आधारमा फोहरको परिमाण सार्वजनिक गर्ने गरिएको अभियानकर्मीले जनाएका छन् ।
वाग्मती सफाइ महाअभियानको ३०४औँ हप्तामा टेकु दोभानस्थित वाग्मती पुलक्षेत्रको नदी किनारमा सफाइ गरी पाँच मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष नरेन्द्रराज बस्नेत, पूर्व राजदूत भिक्ट्रीशम्शेर राणा, सफाइ अभियानकर्मीलगायत ४०० भन्दा बढी अभियानकर्मीको सक्रियता थियो ।
सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत १९ संस्थाको सक्रियता रहेको उक्त समितिका सदस्य माला खरेलले राससलाई जानकारी दिनुभयो । गुह्येश्वरीमाथिको नदी सफाइको २६५औँ हप्तामा गोकर्णेश्वर नगरपालिका– ५ र कागेश्वरी मनोहरा नगरपालिका–८ को सीमास्थित गोठाटार पुलमुनिको नदी किनार सफाइ गरिएको थियो । दुबै नगरपालिकाका वडाको संयोजनमा भएको सफाइमा कुहिने फोहरलाई जमीनमुनि गाडिएको नकुहिने फोहर व्यवस्थापन गरिएको वाग्मती सुन्दरता सरोकार मञ्चका अध्यक्ष उत्तम पुडासैनीले बताउनुभयो ।
सो सफाइमा चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको थियो । मञ्चले घरभित्रको फोहर व्यवस्थापन नगर्नेलाई नदी किनारको सफाइमा नआउन समेत आह्वान गर्दै आएको छ । घरकै फोहर व्यवस्थपन नगर्नेलाई पहिले त्यहीँ काम गर्न सल्लाह दिइएको मञ्चले जनाएको छ ।
सफाइमा मानव अधिकार तथा शान्ति समाज अन्य सङ्घ संस्थासहित स्थानीयवासी गरी ३०० भन्दा बढी अभियानकर्मीको सहभागिता थियो । मञ्चको सक्रियतामा एक हप्ता लगाएर सफाइ गरिएको भैरव स्मृति जोरपाटी उद्यानलाई गोकर्णेश्वर नगरपालिका–५ ले सञ्चालनमा ल्याउने भएको छ ।
सफाइ अभियानकर्मीले सहयोग जुटाएर उद्यानमा मेचको व्यवस्था गरिदिएको मञ्चका अध्यक्ष पुडासैनीले बताउनुभयो । उद्यानलाई हरियाली बनाएर आराम गर्ने स्थलका रुपमा विकास गर्ने प्रतिबद्धता सम्बन्धित वडा कार्यालयले जनाएको छ ।
रुद्रमती सफाइ अभियानको २५९ हप्तामा रातोपुल–कालोपुल–शहीदमार्गसम्ममको क्षेत्रमा सफाइ गरी एक मेट्रिकटन फोहर व्यवस्थापन गरिएको थियो । सफाइमा २०० भन्दा बढी अभियानकर्मीको सहभागिता रहेको रुद्रमती सरोकार समितिका उपाध्यक्ष रोहित गिरीले राससलाई जानकारी दिनुभयो ।
विष्णुमती सफाइको २३१औँ हप्तामा तारकेश्वर नगरपालिका–१० स्थित लोकतान्त्रिक चोकबाट मानसिंह माध्यमिक विद्यालयसम्म सफाइ गरी चार मेट्रिकटन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी शोभाकान्त पाण्डेले बताउनुभयो।
सुन्दरीघाटस्थित वाग्मती नदी किनारमा ११४औँ हप्ताको सफाइ गरियो । एक सय १५ जनाभन्दा बढी अभियानकर्मीको सक्रियतामा भएको सफाइमा दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको थियो ।
प्रतिक्रिया