कम्युनिष्टहरुले विश्वको एक मात्र हिन्दु राष्ट्रको पहिचान मेटाएः राणा

७ बर्ष अगाडि

बीरगंज । राप्रपा (संयुक्त) का अध्यक्ष पशुपति शम्शेर जबराले कम्युनिष्टहरुले विश्वको एक मात्र हिन्दु राष्ट्रको पहिचान मेटेर अन्याय गरेको आरोप लगाएका छन् ।

‘कम्युनिष्टहरु हिन्दु धर्म विरोधी हुन् । एउटा गैरसरकारी संस्थाले आयोजना गरेको कार्यक्रममा होली वाइन खाने, होटलमा गएर तीन दिन बस्ने प्रधानमन्त्री अश्वमेघ यज्ञमा आएनन् । प्रधानमन्त्री मात्र होइन राष्ट्रपति पनि आएनन् । नेपाललाई संसारले हिन्दु राष्ट्र भनेर चिनेको थियो, त्यो पहिचान मेटेर कम्युनिष्टहरुले अन्याय गरेको छ,’ प्रदेश नं २ को कार्यकर्ता भेलालाई सम्बोधन गर्दै राणाले भने ।

राष्ट्रपति दलगत रुपमा निष्पक्ष नरहने हुनाले निष्पक्ष राष्ट्र प्रमुखको रुपमा राजसंस्थाको आवश्यकता रहेको राणाले दाबी गरे । 

सम्बोधन क्रममा राणाले राप्रपा (संयुक्त) ले एकता प्रक्रियालाई बृहत बनाउदै लैजाने बताए । उनले भने, ‘राप्रपा (संयुक्त) राप्रपाको मूलधार हो । राप्रपाका सबै भंगालो यसमा अब समाहित भएर सशक्त राष्ट्रवादी शक्ति बन्नेछ ।’

राप्रपा (संयुक्त) का अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले धर्म निरेपक्षको नाममा नेपालको मौलिक धर्म मास्ने काम भइरहेकोमा आपत्ति जनाए ।

‘पृथ्वीनारायण शाहले धर्म परिवर्तन गर्न आएका क्यापुचिन पादरीहरुलाई देश निकाला गरेपछि तीन सय वर्ष धर्म परिवर्तन गराउनेहरुले नेपालमा प्रवेश पाएका थिएनन् । तर धर्मनिरेपक्ष भए यता एकाएक गरिवीको फाइदा उठाउदै नेपालमा व्यापक धर्म परिवर्तन गरिदै छ,’ अध्यक्ष लोहनीले भने ।

नेपाली धर्म, सँस्कृति संरक्षण गर्ने सरकारको दायित्व भएपनि यो जिम्मेवारीबाट प्रधानमन्त्री पूर्ण रुपमा चुकेको लोहनीको भनाई थियो ।  

७ बर्ष अगाडि

प्रतिक्रिया