बाँके – “केटीले पनि बिजुली बनाउने काम गर्छन् ?” सुशीला डिसीले शुरुका दिनमा यस्ता थुप्रै प्रश्नको सामना गर्नुप¥यो । कतिले त “घरघरमा गएर काम गर्नुपर्छ होला, समस्या हुँदैन” भन्नसम्म भ्याउँथे ।
बिजुली बनाउने काम गर्दा अचम्मै भएजस्तो गरी घुरेर हेर्नेहरु थुप्रै भेट्नुभएकी सुशीलालाई केही फरक पारेन । किनकी ‘केटी’ पनि हरेक काम ‘केटा’ बराबर भएर काम गर्न सक्छन् भन्ने देखाउनु थियो उहाँलाई । बर्दिया मधुवनकी सुशीलाले प्रवेशिका परीक्षा उत्तीर्ण गरेपछि स्थानीय प्राविधिक शिक्षालयबाट सवओभरसियर पढाइ सक्नुभयो । केटाले मात्र गर्ने भनिएको बिजुली मर्मतसम्भारको काम केटीले गर्न नौलो लागे पनि आफैँ र परिवारका सदस्यले गर्न सुझाव दिएका थिए ।
“जम्मै काम पुरुषले गर्ने हामी भने सिलाइकटाइमै सीमित हुने हो भने कहिले स्वरोजगार बन्छौँ”, सुशीलाले भन्नुभयो, “होइन, अब हामीले पनि फरक काम गर्नुपर्छ भन्ने भित्री मनबाटै लागेपछि पढेकी हुँ ।” त्यही सोचले उहाँलाई एउटा सफल सवओभरसियर बनाएको छ अहिले । अठार महीने कोर्स सिध्याएपछि सुशीलाले घरछिमेकी काम गर्नुभयो । नयाँ घरको पूरै बिजुली बनाउने कामसम्म भ्याउनुभयो । उहाँको काम देखेपछि गाउँभरि काम दिनेको सङ्ख्या पनि बढ्यो ।
“केटाले गर्ने काम नगर भन्ने पनि थिए”, शुरुका दिन सम्झँदै उहाँले भन्नुभयो, “उनीहरुका कुराले केही फरक पारेन, राम्रो काम गरेपछि तिनीहरुले नै स्यावासी पनि दिन्थे ।” सुशीला अहिले नेपालगञ्जमा रहेको लक्ष्मी भण्डारमा राम्रै तलबमा जागीर खाइरहनुभएको छ ।
बर्दियाकै हेमा रानाले पनि दाजुकै आग्रहमा सवओभरसियर पढ्नुभयो । परीक्षा दिएर बसेकी उहाँ अहिले नेपालगञ्जमै जागीर गर्दै हुनुहुन्छ । काम गर्दै लोकसेवाको तयारी पनि गरिरहेको बताउने रानाले महिला परम्परागत कामबाट माथि उक्लनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “स्क्रिु ड्राइभर चलाउन हामीलाई पनि आउँछ, जब हामी केटाजस्तै काम गर्न सक्छाँै भने किन चुप लागेर बस्ने रु” परम्परागत सिपमात्र अङ्गाल्ने हो भने महिला कहिल्यै स्वरोजगार बन्न नसक्ने उहाँको तर्क छ ।
बिजुलीको काममा दाङ घोराहीकी प्रेमा चौधरीको अनुभव लामै छ । उहाँले त ओभरसियरमा ३८ महीने कोर्स गर्नुभएको छ । उहाँले लामो समय धेरैका घरमा बिजुली जोडेर उज्यालो दिने काम गर्नुभयो । “धेरै केटाको भीडमा एक्ली केटी देख्दा अचम्मै मान्ने कति थिए कति, यस्ता कुरा भए भन्दैमा हामी चुप लाग्ने होइन, हाम्रो समाज नै यस्तै छ, तर विस्तारै हामी आफैँले यस्ता सोचलाई चिर्नुपर्छ”, चौधरीले भन्नुभयो । सुशीला, हेमा र प्रेमाजस्ता बिजुलीमा खेल्ने ‘केटी’हरु नेपालगञ्जमा अरु पनि छन् ।
प्रतिक्रिया