विराटनगर – राप्रपा (संयुक्त) का अध्यक्ष पशुपति शमशेर राणाले राजसंस्था सहितको प्रजातन्त्र र हिन्दू राष्ट्र आन्दोलनबाटै स्थापित गर्ने बताएका छन् ।
प्रदेश नं. १ मा राप्रपा (संयुक्त) ले भेलाको अवसरमा विराटनगरमा गरेको पत्रकारा सम्मेलनमा बोल्दै राणाले यस्तो बताएका हुन् ।
अध्यक्ष राणाले पार्टीलाई मजबुत गर्ने क्रममा दुई चरणको एकताको क्रम सम्पन्न भइसकेको भन्दै उनले भने, अब तेस्रो चरणमा राप्रपाका अन्य नेता, कार्यकर्ता राप्रपा (संयुक्त) मा आउनु हुनेछ । त्यसपछि कमल थापाले नेतृत्व गरेको राप्रपासँग पनि एकता हुनसक्दछ । हामीले भनेकै छौं, समान विचारधारा भएकाबीच एकताका लागि सदा ढोका खुल्ला छ ।
अध्यक्ष राणा पत्रकार सम्मेलनको क्रममा भने, सबैलाई स्वीकार्य हुने राजसंस्था सहितको प्रजातन्त्र र सनातन हिन्दू राष्ट्रलाई लिएर संविधानप्रति हाम्रो असहमति छ । असहमति राख्ने संविधानले दिएको अधिकार उपयोग गर्दै, पार्टीको संगठन सुढृद गरेपछि हामी आन्दोलन गर्छौ । जनताको सहयोगबाटै हाम्रा मान्यता स्थापित गर्छौं ।
पत्रकार सम्मेलनको क्रममा राप्रपा (संयुक्त) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले भने, संविधानले असहमति राख्ने, संविधान संशोधन गर्ने अधिकार दिएको छ । यो संविधानको राम्रो पक्ष हो । यही व्यवस्थालाई टेकेर हामी राजसंस्था सहितको प्रजातन्त्र र सनातन हिन्दु राष्ट्र स्थापना गर्छौं । संविधानले दिएको हक उपयोग गर्दा कसैले हामीलाई थुन्छ भने थुने हुन्छ । यो हाम्रो चुनौति हो उनले भने ।
सरकारले सुशासन दिन्छ भन्ने आशा थियो तर, सरकार कुशासनतर्फ उन्मुख छ । यसलाई नियन्त्रण गर्न, जनताको हितमा हामी सक्रिय भएर लाग्नेछौं, लोहनीले भने ।
प्रतिक्रिया