काठमाडौँ – राष्ट्रिय जनावर गाई संरक्षणको माग गर्दे सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ ।
पशु कल्याणका आधारभूत मान्यताहरुलाई समेत बेवास्ता गर्दै स्थानीय निकायहरुले गरिरहेको छाडा पशु चौपायाहरुको व्यवस्थापन अव्यवस्थित, अपरिपक्व र नतिजाविहिन भएकोले त्यसको वैज्ञानिक र उपयोगि समाधानका लागि प्रधानमन्त्रि तथा मन्त्रिपरिषदको कार्यालय, पशु सेवा विभागका साथै, ७ ओटा निकायको नाममा परमादेशको माग गर्दै आइतबार सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ ।
पशु कल्याणका लागि कार्यरत सँस्था स्नेहाज केयरले देशव्यापि रुपमा देखिएको छाडा पशु चौपायाहरु विषेश गरि गाई गोरुहरुको कानुनसम्मत र मानवीय तरिकाले व्यवस्थापन गर्ने काममा सरकारी निकायहरु उदासीन देखिएकाले तत्कालै पशुहरुप्रति भईरहेको दुव्र्यवहार अन्त्य गरि मानवीय व्यवस्थापनको माग गर्दै मुद्दा दर्ता गरेको हो ।
स्नेहाज केयरको तर्फबाट अधिबक्ता श्री पदम बहादुर श्रेष्ठले सो मुद्दा दर्ता गराएका हुन् । कैलाली जिल्ला स्थित घोडाघोडी नगरपालिकाले चुरेको जंगलमा लगि छाडा गाईगोरुहरुलाई राखेकोमा त्यसको उचित व्यवस्थापन गर्न नसक्दा भोक, प्यास, आवास तथा औषधि उपचारको अभावमा धेरै गाईहरुको मृत्यू भएको घटनाले यस समस्याको उजागर गरेको थियो । त्यस लगतै मिति २०७५ साल माघ १७ गते त्यस स्थानका गाईहरुलाई आवश्यक उपचार, दानापानी र हेरचाहको व्यवस्था गर्न स्नेहाज केयर कैलाली पुगेको थियो ।
हालसम्म पनि सँस्थाले त्यस स्थानका गाई गोरुहरुलाई निरन्तर रुपमा सेवा प्रदान गर्दै आईरहेको छ भने, आफ्नै खर्चमा घोडाघोडी नगरपालिका वडा नं. ४ मा करिब ४०० गाईहरु राख्न मिल्ने नमुना गौशालाको पनि निर्माण गरिरहेको कुरा सँस्थाकी अध्यक्ष स्नेहा श्रेष्ठले बताईन् ।
सँस्थाले हाल देखिएको समस्यालाई हल गर्नका लागि घोडाघोडी नगरपालिका वडा नं. ४ मा एक नमुना गौशाला निर्माण गरिरहेको छ तर यो दिर्घकालिन समाधान भने होईन । अध्यक्ष श्रेष्ठले भनिन्, जिम्मेवार निकायले यो समस्याको प्रभावकारी र दिर्घकालीन समाधान खोज्नु जरुरी छ । छाडा पशु चौपायाहरुको मानवीय र दिर्घकालिन समाधानका लागि सम्बन्धित निकायहरुसँग निरन्तर सम्बाद भईरहे पनि आशातित नतिजा नआएकोमा उनले खेद प्रकट गरीन् ।
सम्बन्धित निकायबाट प्रभावकारी पहल नभएकोले आफूहरु अदालतसम्म जानुपरेको उनको भनाई थियो । पश्चिम तराईका विभिन्न जिल्लाहरुका साथै काठमाडौँ उपत्यकामा पनि हाल छाडा गाई गोरुहरुको समस्या बढीरहेको छ ।
प्रदेश नं. ३ सरकारले हालै मात्र चिनबाट उन्नत गाईहरु ल्याई किसानहरुलाई गाईपालनमा प्रोत्साहित गर्नका लागि सम्झौता समेत गरिसकेको छ । बिनाकुनै पूर्वतयारी यसरी गरिने पशुपालनबाट भोलिका दिनमा अझै बिकराल समस्या सिर्जना हुनेतर्फ हामी सबै सचेत हुनु जरुरी छ ।
प्रतिक्रिया