काठमाडौँ – दक्षिण कोरियामा कम्तीमा तीन वर्ष वैधानिक रूपमा काम गरेर फर्किएर पुनः कोरिया जान चाहने युवाका लागि आज शुक्रबार देखि आवेदन खुल्ने भएको छ ।
आउँदो वैशाख ४ गतेदेखि सञ्चालन गरिने कम्प्युटरमा आधारित परीक्षा (सीबीटी) माध्यमबाट हुने परीक्षाका लागि आवेदन खुलेको हो । यस आवेदन दिन चाहनेले १७, १८ र १९ गतेसम्म आवेदन दिनसक्ने छन् । आवेदन दिन चाहनेहरू काठमाडौँमा रहेको ईपीएस कार्यालयमै आउनुपर्ने वैदेशिक रोजगार विभागअन्तर्गतको रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाले जनाएको छ ।
शाखाका अनुसार चैत ११ गते उक्त परीक्षा तालिका सार्वजनिक गरिनेछ । शाखाका अनुसार सन् २०१० जनवरीदेखि वैधानिक भएर कोरियाबाट फर्किएका श्रमिक कम्प्युटर भाषा परीक्षामा सहभागी हुन पाउने छन् । यस वर्षदेखि कार्यक्षमता र फर्किएका श्रमिकको अवधि हेरेर अङ्क पाउने प्रणाली पनि लागू गरिने छ ।
यस परीक्षामा कोरियाबाट तीन वर्ष काम गरी फर्केका ३९ वर्ष ननाघेका व्यक्ति मात्र सहभागी हुन पाउनेछन् । प्रत्येक दिन २८-२८ जनाको चार सिफ्ट गरेर ११२ जनाको परीक्षा सञ्चालन हुनेभएको छ । यस परीक्षामा उत्तीर्ण हुने सबै कोरिया जान पाउनेछन् ।गोरखापत्र
प्रतिक्रिया