मन्त्री अधिकारीको निधनमा यस्तो छ 'नेकपा' बैठकको निर्णय (पुर्णपाठसहित)

७ बर्ष अगाडि

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सचिवालयको आज सम्पन्न बैठकले बुधबार ताप्लेजुङको फुङलिङ नगरपालिका– १०, सिस्नेभीरमा भएको एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाका सम्बन्धमा विभिन्न निर्णय गरेको छ । 

नेकपाले हेलिकप्टर दुर्घटना परि मृत्यु  भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, यति एअरलाइन्सका प्रवन्ध निर्देशक तथा स्थापित पर्यटन उद्यमी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुवदास भोछिभया, प्रधानमन्त्रीे कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका चालक प्रभाकर केसी र मन्त्रीका अंगरक्षक नेपाली सेनाका जमदार अर्जुन घिमिरेप्रति  सम्पुर्णमा भावपुर्ण श्रद्धाञ्जली अर्पण गरेको बताएको छ । 

साथै पोस्मार्टम गरिसकेपछि श्रद्धाञ्जलीका लागि राजधानीको टुुँडिखेलमा ३ बजेदेखि पार्थिव शरीर राखिने नेकपाले जनाएको छ । 

यस्तो छ नेकपाको निर्णय

बैठकले एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा हाम्रो पार्टीका केन्द्रीय कमिटी सदस्य माननीय रविन्द्रप्रसाद अधिकारी, यति एअरलाइन्सका प्रवन्ध निर्देशक तथा स्थापित पर्यटन उद्यमी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुवदास भोछिभया, प्रधानमन्त्रीे कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका चालक प्रभाकर केसी र मन्त्रीका अंगरक्षक नेपाली सेनाका जमदार अर्जुन घिमिरेप्रति हार्दिक एवम् भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ । 

साथै, उनीहरुको शोकाकुल परिवार तथा आफन्तजनहरुप्रति गहिरो समवेदना प्रकट गरेको छ ।

बैठकले आज देशभरका पार्टी कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ । त्यसैगरी तीन दिनसम्म सबै तहका पार्टी कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय गरेको छ । 
बैठकले यही फागुन २३ गते काठमाडौंमा पार्टी केन्द्रको आयोजनामा श्रद्धाञ्जलीसभा आयोजना गर्ने निर्णय गरेको छ । 

आजै ताप्लेजुङबाट काठमाडौँ ल्याएर पोस्मार्टम गरिसकेपछि श्रद्धाञ्जलीका लागि राजधानीको टुुँडिखेलमा ३ बजेदेखि पार्थिव शरीर राखिनेछ । 

मन्त्री रविन्द्र अधिकारीको अन्तेष्टी भोली फागुन १७ गते उनको गृहनगर पोखरामा गरिनेछ ।

बैठकले दुर्घटनामा परी दिवंगत भएका व्यक्तिहरुका परिवारलाई आवश्यक सहयोग गर्न नेपाल सरकारसँग अनुरोध गर्ने निर्णय पनि गरेको छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया