बनेपा – काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका–५ का वडाध्यक्ष खजेन्ची लामाले आफ्नो तलबवापत आएको रकमबाट यहाँका ज्येष्ठ नागरिकलाई सहयोग तथा सम्मान गरेको छ ।
च्यासिङखर्कको च्याल्टीमा मङ्गलबार आयोजित एक कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता गगन थापाले ७० वर्ष भन्दामाथिका १५१ ज्येष्ठ नागरिकलाई हिँडडुल गर्नमा सहज होस् भन्ने उद्देश्यले लठ्ठी वितरण तथा दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
सो अवसरमा उहाँले ज्येष्ठ नागरिकलाई राज्यले उचित ढङ्गले सम्मान गर्न आवश्यक रहेको बताउँदै जनप्रतिनिधिले आफ्नो तलबबाट भए पनि ज्येष्ठ नागरिकको सहयताका लागि लठ्ठी वितरण गर्नु राम्रो काम भएको धारणा व्यक्त गर्नुभयो ।
बेथानचोक गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले शिक्षा, स्वास्थ्य, सुरक्षा र विकास निर्माणका कार्य गाउँपालिकाको प्राथमिकतामा रहेको बताउनुभयो ।
वडा अध्यक्ष खजेञ्ची लामाले वृद्धवृद्धाको नजिकको सहारा भनेको लठ्ठीनै भएकाले सोही अनुसार आफूले उहाँहरुलाई लठ्ठी वितरण गरेको बताउनुभयो । वडाध्यक्ष लामाले रु दुई लाखको लागतमा दुई सय लठ्ठी खरीद गरी १५१ लाई आज वितरण गरिएको जानकारी दिनुभयो ।
प्रतिक्रिया