काठमाडौं–थाइल्यान्डमा जारी आईसीसी महिला विश्वकप क्रिकेट अन्तर्गत एसिया छनोटको अन्तिम खेलमा नेपालले कुवेतलाई ३० रनले हराएको छ । नेपालले अन्तिम खेल जितेपनि ठूलो अन्तरको जित निकाल्न नसक्दा विश्वकपमा छनोट हुन सकेन ।
बैंककस्थित एसियन इन्सिटच्युट अफ टेक्नोलोजीको मैदानमा बुधबार नेपालले दिएको एक सय १७ रनको लक्ष्य पछ्याएको कुवेत २० ओभरमा ९ विकेटको क्षतिमा ८६ मा समेटिएको थियो । कुवेतका लागि कप्तान मार्याम ओमारले सर्वाधिक २९ रन बनाइन् । प्रियादा मुरालीले १४ तथा सब्रिन जाकी र मारियामा हेदरले समान १२–१२ रन बनाए ।
कुवेतलाई सस्तैमा समेट्न नेपालकी रुबिना क्षेत्रीले ह्याट्रिक विकेट लिइन् । रुबिनाले अन्तिम ओभरमा तीन विकेट लिएकी थिइन् । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा एक सय १६ रन बनाएको थियो ।
प्रतिक्रिया