काठमाडौं- सर्वोच्च अदालतले न्यायाधीशहरूको विदेश भ्रमणका लागि पठाएको प्रस्ताव मन्त्रिपरिषद् बैठकले अस्वीकृत गरेको छ । सर्वोच्च अदालतले न्यायाधीशहरूको विदेश भ्रमणका लागि सैद्धान्तिक सहमति माग्दै केही दिनअघि स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाएको थियो , राजधानी दैनिकमा खबर छ।
मन्त्रिपरिषद्ले कसलाई कहाँ र कुन प्रयोजनका निम्ति विदेश भ्रमण पठाउन लागेको भन्ने नखुलेका कारण अस्वीकृत गरेको हो । ‘सर्वोच्च अदालतले न्यायाधीशहरूको विदेश भ्रमणको सैद्धान्तिक सहमतिका लागि पठाएको रहेछ, तत्काललाई मन्त्रिपरिषद्ले स्थगित गरेको छ,’ कानुनमन्त्री शेरबहादुर तामाङले भने ।
सर्वोच्चले न्यायाधीशहरूको विदेश भ्रमणका लागि कसैको नाम उल्लेख नगरी प्रस्ताव पठाएको थियो । यसअघि पनि सर्वोच्चले न्यायाधीशको विदेश भ्रमणका लागि सैद्धान्तिक सहमति लिँदै आएको थियो । सर्वोच्च स्रोतका अनुसार यो नै पहिलोपटक मन्त्रिपरिषद्ले अस्वीकृत गरेको हो । मन्त्रिपरिषद्ले यसलाई तत्काललाई स्थगित भएको जनाएको छ ।
प्रतिक्रिया