नेपालगञ्ज - तपाईं नेपालगञ्जवासी हो वा यहाँ आएको पाहुना ? यदि तपाईं नेपालगञ्जमा हुनुहुन्छ भने अब शौचसँगै सङ्गीतको आनन्द लिन सक्नुहुन्छ । यसका लागि नेपालगञ्ज उपमहानगरपालिकाले छिट्टै अत्याधुनिक डिजिटल शौचालय नेपालगञ्जमा स्थापना गर्दैछ ।
नेपालगञ्जको केन्द्र धम्बोझी चोक नजिक स्थापना हुन लागेको डिजिटल शौचालयमा सङ्गीतको आनन्द लिँदै आरामका साथ शौच गर्न पाउने व्यवस्था उपमहानगरपालिकाले ल्याएको छ । धम्बोझी चोक नजिक कृषि विकास बैंक र राष्ट्र बैंकको बीचमा शौचालय स्थापना हुनेछ ।
एकैपटक सात जनाले प्रयोग गर्न मिल्ने आधुनिक प्रविधि जडान भएको डिजिटल शौचालय १०–१५ दिनमै सर्वसाधरणका लागि खुला गर्ने तयारी उपमहानगरपालिकाले गरेको छ । उपमहानगरपालिका र एसएनभीको संयुक्त पहलमा डिजिटल शौचालय निर्माण गरिँदैछ ।
केही महीनाअघि शौचालय स्थापना गरिने सो क्षेत्रमा ‘फाउण्डेसन’को काम सम्पन्न गरिसकेको उपमहानगरपालिका प्रमुख डा धवलशम्शेर राणाले जानकारी दिनुभयो । शौचालय भरिएमा नटबोल्ट खोलेर एक ठाउँबाट अर्को ठाउँमा सहजै लैजान सकिने डिजिटल शौचालयको निर्माणकार्य अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो ।
“जमीनमाथिको फाउण्डेसन निर्माण अन्तिम चरणमा पुगेको छ”, प्रमुख डा राणाले भन्नुभयो, “काठमाडौँमा निर्माण भइरहेको शौचालयको फाउण्डेसनको स्थलगत अनुगमन गरेका छौँ ।” उपमहानगरपालिकाको रु पाँच लाख तथा एसएनभीको रु ४५ लाख लागतमा बन्ने डिजिटल शौचालयमा सौर्य प्रणालीबाट विद्युत् प्रवाह गरिनेछ ।
अपाङ्गता भएका व्यक्ति तथा महिलामैत्री सो डिजिटल शौचालयमा एकैपटक तीन महिला, तीन पुरुष र एक फरक क्षमता ९अपाङ्गता भएका व्यक्ति० भएका व्यक्तिले शौच गर्न सक्नेछन् । उपमहानगरपालिकाका सरसफाइ संयोजक ओविराज आचार्यले भन्नुभयो, “पूर्ण स्वचालित पद्धतिमा चल्ने शौचालयभित्र पानी र साबुन नभए शौचालयको ढोका खुल्दैन । यो शौचालय देशकै पहिलो हुनेछ ।”
उहाँका अनुसार शौचालयभित्र शौच गर्दा स्वचालितरूपमा सङ्गीत बज्छ । जो कोहीले सङ्गीत सुन्दै शौच गर्न पाउनेछन् । शौचालय सञ्चालनमा आएसँगै यसलाई उपमहानगरपालिकाले आफँै सञ्चालन गर्ने वा ठेक्कामा दिने भन्ने निर्णय भएको छैन । यसअघि नेपालगञ्जमा शौचालय अभावको समस्यालाई समाधान गर्न चार घुम्ती शौचालय सञ्चालनमा ल्याइएको थियो ।
प्रतिक्रिया