विदेशी ऋण लिँदा १५ वर्षको 'हेजिङ' सुविधा

६ बर्ष अगाडि

काठमाडौँ – नेपाल राष्ट्र बैंकले योजनाको प्रकृतिअनुसार १५ वर्षसम्मको विदेशी मुद्रा हेजिङ गर्न सक्ने प्रावधानसहितको परियोजना तयार पारेको छ । हेजिङ गर्दा बैंकले योजनाका अनुसार पहिलो चरणमा १० वर्ष र नवीकरणपछि ५ वर्ष गरी १५ वर्षको गर्ने भएको हो । 

राष्ट्र बैंकले विदेशी ऋण लगानी हुने परियोजनाका लागि हेजिङ सुविधा उपलब्ध गराउन भनी हेजिङसम्बन्धी नियमावली–२०७५ समेत ल्याइसकेको छ । हेजिङको सेवा लिन चाहने परियोजनाले कानुनबमोजिम विदेशी लगानी गर्ने र विदेशी मुद्रा ल्याउने सहमति गरेको हुनुपर्नेछ ।

नेपाल राष्ट्र बैंकले यसका लागि खडा गर्ने ‘हेज फन्ड’ जुटाउन सहज गराउने कानूनी व्यवस्थाबारे जानकारी दिन फागुन १४ मा सूचना सार्वजनिक गरेको बताएको छ । ठूला परियोजना निर्माणका लागि हेजिङ सुविधा उपयोग गरेका लगानीकर्ताले परियोजनाको अवधि बढाउन चाहेमा प्रमाणपत्र नवीकरण गर्न सक्ने व्यवस्था छ ।

हालसम्म प्रमाणपत्रको अवधि सकिन ३० दिन बाँकी हुँदा नै नवीकरणका लागि केन्द्रीय बैंकमा निवेदन दिनुपर्ने व्यवस्था छ । नयाँ व्यवस्था अनुसार १० वर्षयताको अमेरिकी डलरसँग नेपाली रुपैयाँको विनिमयदरका आधारमा परियोजनाको प्रकृति अनुसार विनिमय दर कायम हुनेछ । हालसम्म ५ वर्षको मात्र नवीकरण गर्ने व्यवस्था छ ।

नियमावलीमा तोकिएका ठूला परियोजनाका लागि यस्तो सुविधा उपयोग गर्न लगानीकर्ताले कानून अनुसार विदेशी लगानी गर्ने र विदेशी मुद्रा ल्याउने स्वीकृति लिएको हुनुपर्नेछ । यो सुविधा प्राप्त गर्न नियमावली अनुसार नेपाल राष्ट्र बैंकमा निवेदन दिनुपर्नेछ ।

६ बर्ष अगाडि

प्रतिक्रिया