रसुवा – जिल्ला भूमि अधिकार मञ्च रसुवाको चौथो जिल्ला सम्मेलन कालिका गाउँपालिका २ स्थित भूमिघर कालिकास्थानमा एक सभाकाबीच सम्पन्न भएको छ ।
०६२ सालमा गठन भएको मञ्चको तेस्रो कार्यकाल पूरा गरी चौथो कार्यकालको लागि मञ्चको सम्मेलनले संस्थापक मध्येका एक हेमनाथ खतिवडाको अध्यक्षतामा सम्मेलनले १५ सदस्यीय रहेको नयाँ कार्य समिति चयन गरेको छ । खतिवडा यस अघि तदर्थ समितिका सदस्य, सहसचिव, २ कार्यकाल सचिव हुँदै अध्यक्ष भएका हुन् ।
नयाँ समितिका उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सहसचिवमा क्रमश ः टंकलबहादुर नगरकोटी, सुष्मा न्यौपाने, भूवनेश्वरी लामिछाने र गोपिनी परियार चयन भएका छन् भने सदस्यहरूमा पुतली तामाङ, शान्ताकुमारी गलान, खिलप्रसाद आचार्य, खडकमाया न्यौपाने, मुरली नेपाली, कार्साङतेम्पा तामाङ, ध्रुब पौडेल, रमा भट्ट, श्याममाया घलेनी र मोहनप्रसाद ढकाल चयन भएका छन् ।
सम्मेलनको उद्घाटन राष्ट्रिय भूमि अधिकार मञ्च, नेपालका केन्द्रीय महासचिव सरस्वती सुव्वालगायत अन्य उपस्थित अथितिले गरेका थिए । प्रमुख अथिति सुव्वाले मञ्चको चौथो सम्मेलनको व्यानर पढेर भूमि अधिकार मञ्चका अग्रज स्व.बलदेव राम र किसान आन्दोलनको नेता स्व.भीमदत्त पन्तको तस्विरमा माल्यार्पण गरी गरिएको थियो ।
सम्मेलनमा मञ्चको प्रगती तथा आर्थिक प्रतिवेदन प्रस्तुतीकरण गरी त्यसमा छलफल गरी पारित गरिएको छ । जिल्ला मञ्चको सम्मेलनले हेमनाथ खतिवडाको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ । रसुवा जिल्लामा रहेको बिर्ता, गुठी, भूमिहीन सुकुमबासी र विस्थापित परिवारको लागि भूमि अधिकारको सुनिश्चितता गर्नको लागि राज्यसँग वकालतिय अभियान जिल्ला मञ्चले गरिरहेको छ । मञ्चमा २२ गाउँ भूमि अधिकार मञ्चमार्फत ६ सय ११ परिवार सङ्गठित भएका छन् ।
मञ्चको अभियानको सफलतास्वरुप १ सय ७० परिवार बिर्ता पीडित किसानले १५ सय रोपनी बिर्ता जग्गाको लालपुर्जा लिएका छन् । यसबाट ५ सय बढी परिवार लाभान्वित भएका छन् । १ सय ३२ गुठी पीडित परिवारले मोही लालपुर्जा लिएका छन्, यसले उनीहरूले आफ्नो जोतभोग र बसोबास गर्दै आइरहेको जमिनको स्वामित्व लिनको लागि सहज हुनेछ । मञ्चले आफ्नै भूमिघर निर्माण गरी कार्यालय सञ्चालन गरिरहेको छ भने भूमिघरमा तालिम केन्द्र पनि सञ्चालन गरी यसमार्फत आन्दोलन कोष वृद्धि गर्न सहयोग पुगिरहेको छ ।
भूमि अधिकार मञ्चले संयुक्त लालपुर्जा निर्माणको अभियान पनि अघि बढाई जिल्लामा हालसम्म ६ सय बढी परिवारले संयुक्त लालपुर्जा निर्माण गरी भूमिमा महिला र पुरुषको समान स्वामित्व कायम गराएका छन् । यस्तै पछिल्लो समयमा मञ्चले भूकम्प पीडित परिवार, भूमिहीन परिवार र विस्थापित परिवारको पनि पुनर्निर्माणको अभियानमार्फत पुनर्निर्माण र पुनस्र्थापनामा अभियानको लागि वकालतीय अभियानमार्फत समस्यामा परेका परिवारलाई सहयोग गर्नको लागि अभियान गरिरहेको छ ।
सम्मेलनमा सहभागी कालिका गाउँपालिकाका उपाध्यक्ष भवानीप्रसाद न्यौपानेले भने मञ्चले जिल्लामा भूमिहीन, बिर्ता तथा गुठी पीडित किसान र भूकम्प पीडित परिवारले आन्दोलनकै फलस्वरुप कतिपय बिर्ता पीडितले जमिनको अधिकार पाएको बताउनु भएको थियो । विस्थापित बस्तीको पुनर्वासको प्रक्रिया अघि बढेको छ, यो ठूलो उपलब्धी हो । यही उपलब्धीलाई टेकेर भविष्यमा पनि मञ्चले मञ्चसँग आशा राख्ने र समस्यामा परेका किसानहरूलाई सहयोग गर्नु आवश्यक रहेको उहाँले तर्क थियो ।
प्रतिक्रिया