स्याङ्जा–२ मा एमालेकी अर्यालको अग्रता कायमै

३ बर्ष अगाडि

वालिङ / स्याङ्जा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) की पद्माकुमारी अर्यालको अग्रता कायमै रहेको छ । अर्यालले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङलाई ११ मतले पछि पार्नुभएको छ । 

    निर्वाचन अधिकृत रामचन्द्र शर्माका अनुसार हालसम्म छ हजार आठ सय २६ मत गणना हुँदा एमाले उम्मेदवार अर्यालले दुई हजार नौ सय २० मत तथा कांग्रेसका गुरुङले दुई हजार नौ सय नौ मत प्राप्त गर्नुभएको छ । हालसम्म अर्यालले गल्याङ नगरपालिका–६ बाट पाँच सय ७२, वडा नं ७ बाट एक हजार तीन सय नौ, भीरकोट नगरपालिका–५ बाट चार सय २३, वडा नं ६ बाट तीन सय ४४ र वडा नं ७ बाट दुई सय ७२ मत प्राप्त गर्नुभएको छ । 

    यस्तै कांग्रेस उम्मेदवार गुरुङले गल्याङ नगरपालिका–६ बाट चार सय ३८ र वडा नं ७ बाट चार सय ४२ तथा भीरकोट नगरपालिका–५ बाट आठ सय २३, वडा नं ६ बाट पाँच सय एक र वडा नं ७ बाट सात सय पाँच मत पाउनुभएको छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले पाँच सय ८९ मतसहित तेस्रो स्थानमा हुनुहुन्छ ।

    स्याङ्जा–२ मा गए रातिदेखि मत गणना सुरु भएको हो । हालसम्म  गल्याङ नगरपालिको वडा नं ६ र ७ तथा भीरकोट नगरपालिकाको वडा नं ५, ६ र ७ को मतगणना सकिएको छ । यहाँ कूल छ हजार ८२६ मत खसेको थियो । यसमध्ये छ हजार ५९६ मत सदर भएको थियो । 

    यसैगरी क्षेत्र नं २ (१) मा छ हजार ८२१ मतगणना हुँदा एमालेका मोहन रेग्मीले तीन हजार एक सय दुई मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत शर्माले जानकारी दिनुभयो । कांग्रेस उम्मेदवार भोजराज अर्यालले तीन हजार ९१ मत प्राप्त गर्नुभएको छ । निर्वाचन सम्पन्न भएको दश दिन पछि स्याङ्जा–२ मा मतगणना सुरु भएको हो । 

३ बर्ष अगाडि

प्रतिक्रिया