कालिञ्चोक दर्शनको आईपीओमा आजदेखि आवेदन दिन सकिने, क-कसले दिन पाउँछन् आवेदन ?

३ बर्ष अगाडि

काठमाडौं-कालिञ्चोक दर्शन लिमिटेडले आज (मंसिर १४ गते)देखि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ ।  कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गर्न लागेको हो।

कम्पनीले जारी पूँजी ६० करोड रुपैयाँको २ प्रतिशत अर्थात १ करोड २० लाख रुपैयाँ बराबरको १ लाख २० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्कासन गर्नेछ। त्यसैगरी,कम्पनीले जारी पूँजीको १८ प्रतिशत अर्थात १० करोड ६० लाख रुपैयाँ बराबरको शेयर सर्वसाधारणकोलागि निष्काशन गर्दैछ। जुन निष्काशनको १० प्रतिशत हुन आउने १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गर्न लागेको हो।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ। स्थानिय बासिन्दाहरुले अधिकतम ४ हजार ९९० कित्ताका लागि आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारमा रहेकाहरुले अधिकतम १० हजार ८०० कित्ताका लागि आवेदन दिन पाउनेछन्।

वैदेशिक रोजगारमा रहेकाहरुले मंसिर २८ गतेभित्र कम्पनीको आईपीओका लागि आवेदन दिनु पर्नेछ। स्थानिय बासिन्दाहरुले पनि सो दिनसम्ममा आवेदन दिनु पर्नेछ। यद्यपि, पूर्ण आवेदन नपरेमा भने स्थानिय बासिन्दाहरुका लागि निष्काशन अवधि पुस १४ गतेसम्म लम्बिनेछ।

आईपीओ निष्कासनका लागि गराएको रेटिङ्ग अनुसार केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यस्तरको जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धक र कालिञ्चोक दर्शन लिमिटेडको कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका साथै मेगा बैंक र सेञ्चुरी बैंकका दोलखाका तोकिएका शाखा कार्यालय र नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट सि–आस्बा प्रणाली मार्फत पनि आवेदन दिन सक्नेछन्।

३ बर्ष अगाडि

प्रतिक्रिया