काठमाडौं- नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपालबीचको मर्जर प्रक्रिया अन्तिम चरणमा पुगेको छ।
दुवै बैंकको आज (मंसिर १३ गते) बसेको सञ्चालक समितिको बैठकले मर्जर प्रक्रियाका क्रममा तयार पारिएको अन्तिम सम्झौता स्वीकृत भई हस्तान्तरण गरेका छन्। योसँगै मर्जर प्रक्रिया लगभग अन्तिम चरणमा पुगेको हो।
इन्भेष्टमेन्ट र मेगाबीच गत जेठ २७ गते मर्जरमा जाने प्रारम्भिक समझदारी भएको थियो। गत असार २२ गते राष्ट्र बैंकले इन्भेष्टमेन्ट र मेगाबीचको मर्जरलाई सैद्धान्तिक स्वीकृति दिएको थियो। डीडीए रिपोर्टअनुसार इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको १००ः९० स्वाप रेसियो कायम भएको छ।
मर्जरपछि बन्ने बैंकको नाम ‘नेपाल इन्भेस्टमेन्ट मेगा बैंक’ रहनेछ। बैंकको प्रमुख कार्यकारी अधिकृतमा ज्योतिप्रकाश पाण्डे र अध्यक्षमा पृथ्वीबहादुर पाण्डे रहनेछन्। यस्तै नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रबिना देशराज जोशी हुने छिन्।
मर्जरपछि बन्ने नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको चुक्तापुँजी ३४ अर्ब ४२ करोड रुपैयाँ पुग्नेछ। हाल इन्भेस्टमेन्ट बैंकको चुक्तापुँजी १८ अर्ब ३० करोड रुपैयाँ र मेगा बैंकको १६ अर्ब १२ करोड रहेको छ।
प्रतिक्रिया