ग्लोबल आइएमई बैंकको शेयरमूल्य समायोजनपछिको मूल्य कति ?

३ बर्ष अगाडि

काठमाडौं- ग्लोबल आइएमई बैंक लिमिटेडको शेयरमूल्य नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा समायोजन भएको छ । 

नेप्सेले गत आर्थिक वर्षको बोनस शेयरका लागि ग्लोबल आइएमई बैंकको शेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता २४४.०८ रुपैयाँ कायम गरेको छ। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार यो बैंकको प्रतिकित्ता २५१.४० रुपैयाँ थियो। अब समायोजित मूल्यअनुसार यो बैंकको शेयर कारोबारमा आउनेछ।

वार्षिक साधारणसभा र बोनस शेयर प्रयोजनार्थ बैंकले आज मंसिर ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ मंसिर ६ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भई मंसिर १४ गतेसम्म बैंकको शेयर रजिस्ट्रार ग्लोबल आइएमई क्यापिटलमा प्राप्त शेयर नामसारीका आधारमा शेयरधनी दर्ता किताबमा कायम शेयरधनीहरुले सभा भाग लिन र लाभांश पाउन योग्य हुनेछन्। 

बैंकले आफ्नो १६ औँ वार्षिक साधारणसभा यही मंसिर २३ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको गैह्रीधारास्थित सिल्भर ओक बैंक्वेट एन्ड इभेन्ट्स सेन्टरमा बिहान १० बजेबाट हुनेछ। 

सभाले सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम आर्थिक वर्ष २०७८–७९को मुनाफासमेतबाट चुक्तापुँजीको ३ प्रतिशत बोनस शेयर र १०.६ प्रतिशतले हुन आउने नगद लाभांश  (करसहित) स्वीकृत गर्ने र सोही हदसम्म जारी पुँजी तथा चुक्तापुँजी वृद्धि गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। सभाले बैंकको अधिकृत पुँजी २५ अर्ब रुपैयाँलाई वृद्धि गरी ५० अर्ब रुपैयाँ कायम गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ। 

सभाले ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू मर्जर सम्बन्धमा सञ्चालक समितिका तर्फबाट प्रस्तुत प्रतिवेदनउपर छलफल गरी पारित गर्नेछ। सभाले डीडीएका आधारमा निर्धारण गरिएको सेयर स्वाप अनुपात १ः१ स्वीकृत गर्नेछ। 

सभाले दुवै बैंकबीचको मर्जर प्रक्रियालाई अन्तिम स्वीकृति प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ। 

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदनलगायतका विशेष दस्तावेजहरु अनुमोदन गर्नेछ। 

 

३ बर्ष अगाडि

प्रतिक्रिया