काठमाडौं- प्रतिनिधिसभा निर्वाचनको पहिलो मतपरिणाम नेपाली कांग्रेसको पक्षमा आएको छ । मुस्ताङमा कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।
सोमबार सकिएको मतगणनामा कांग्रेसका २९ वर्षीय योगेश गौचन थकालीले एमालेका निवर्तमान सांसद ६० वर्षीय प्रेमप्रसाद तुलाचनलाई पराजित गरेका हुन् ।
प्रतिनिधिसभामा निर्वाचित गौचनले ३ हजार ९९२ मत प्राप्त गरेका छन् भने एमालेका तुलाचनले ३ हजार ७८ मत प्राप्त गरेका हुन् ।
प्रतिनिधिसभा सदस्यमा निर्वाचित योगेश कांग्रेसका जिल्ला सभापति एवम् पूर्वसांसद रोमी गौचनका छोरा हुन् । निर्वाचित योगेशका बुबा रोमीले चार दशक बढी कांग्रेस मुस्ताङको राजनीतिमा एकछत्र पकड कायम राखेका थिए । रोमीले २०५६ र २०७० सालमा निर्वाचनमा जितेका थिए । पूर्व मन्त्री समेत रहेका रोमीले २०६४ र २०७४ मा चुनाव हारेका थिए ।
यसवर्ष कांग्रेसबाट प्रतिनिधि सभामा पुग्ने योगेश नै सबैभन्दा कम उमेरका सांसद हुन् । पार्टी संरचनाको पदीय जिम्मेवारीमा योगेश तत्कालीन लेते गाविसको पार्टी सभापति थिए । हाल उनी गण्डकी प्रदेश सदस्य र महाधिवेशन प्रतिनिधि हुन् ।
भारतमा ब्याचलर अफ बिजनेस म्यानेजमेन्ट सकेर फर्किएका योगेश राजनीतिसँगै व्यापारमा संलग्न छन् । गौचनको लेतेमा कालोपानी गेस्ट हाउस होटल छ । साथै उनले ट्राभल्स कम्पनी पनि सञ्चालन गर्छन् ।
योगेशले चीनको सिमानामा रहेको कोरला नाका सञ्चालन गर्न चिनसँग कुटनीतिक पहल गर्ने, त्यहाँ जोड्ने सडक पूर्वाधार तयार पार्ने मुद्दालाई प्राथमिकता दिने बताएका छन् । जोमसोम–कोरला सडक कालोपत्रे गर्ने र बेनी–जोमसोम सडकलाई स्थायी र दीर्घकालीन निकास दिन पहल गर्ने मतदाता समक्ष प्रतिवद्धता गरेका छन् ।
प्रतिक्रिया