काठमाडौं, नेपाल पुनर्बीमा कम्पनीले बल्ल गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । अन्य कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै गर्दा कम्पनीले भने बल्ल चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको हो ।
सार्वजिनक वित्तीय विवरण अनुसार कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा निर्जीवन बीमा व्यवसायबाट ५६ करोड ५० लाख ४४ हजार रुपैयाँ र जीवन बीमा व्यवसायबाट १० करोड ८८ लाख ३४ हजार रुपैयाँ गरी ६७ करोड ३८ लाख ७८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा कम्पनीको खुद नाफा १०.४५ प्रतिशतले बढी हो ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले निर्जीवन बीमा व्यवसायबाट ५७ करोड ५३ लाख ५६ लाख रुपैयाँ र जीवन बीमा व्यवसायबाट ३ करोड ४७ लाख ६२ हजार रुपैयाँ गरी ६१ करोड १ लाख १५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यसैगरी, कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १० अर्ब ७६ करोड ६५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । कम्पनीले निर्जीवन व्यवसायबाट ८ अर्ब ८७ करोड ६७ लाख रुपैयाँ र जीवन बीमा व्यवसायबाट १ अर्ब ८८ करोड ९८ लाख रुपैयाँ गरी सो बराबरको बीमाशुल्क आर्जन गरेको हो । यो अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा १५।८९ प्रतिशत बढी हो ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले जीवन तथा निर्जीवन बीमा व्यवसायबाट ९ अर्ब २९ करोड रुपैयाँ मात्रै खुद बीमाशुल्क आर्जन गरेको थियो ।
यस्तै, गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले पुनर्बीमा कमिशन बापत १ करोड ५० लाख ४७ हजार रुपैयाँ र लगानी कर्जा तथा अन्य आयबाट ४६ करोड ३० लाख ८२ हजार रुपैयाँ आम्दानी गरेको छ ।
कम्पनीले यस अवधिमा ७ अर्ब २२ करोड १२ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ भने १ अर्ब ९७ करोड ६६ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ । यस अवधिमा कम्पनीले १२ अर्ब ४ करोड ५८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।
यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक ५ रुपैयाँ ७८ पैसा, प्रतिशेयर नेटवर्थ १६१ रुपैयाँ ५ पैसा र मूल्य आम्दानी अनुपात १२७.०७ गुणा रहेको छ ।
चुक्ता पूँजी ११ अर्ब ६५ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ६ अर्ब १३ करोड २ लाख रुपैयाँ र बीमा कोषमा २८ करोड ४७ लाख रुपैयाँ सञ्चित छ ।
प्रतिक्रिया