काठमाडौं, सिद्धार्थ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ५ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ५.६५ प्रतिशतले कम हो ।
गत आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले ५ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको हालै सार्वजनिक भएको चालु आर्थिक वर्षको पहिलो तीन महिनाको वित्तीय विवरणले यस्तो देखाएको हो ।
कम्पनीको खुद बीमाशुल्क भने ३०.१५ प्रतिशतले बढेर ३९ करोड ८२ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ३० करोड ५९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।
यस्तै कम्पनीले पुनर्बीमा कमिशन बापत ९ करोड ३५ लाख रुपैयाँ र लगानी कर्जा तथा अन्य आयबाट २ करोड ६१ लाख रुपैयाँ आम्दानी गरेको छ ।
चुक्ता पूँजी १ अर्ब २८ करोड ८० लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा २४ करोड २७ लाख रुपैयाँ, बीमा कोषमा एक अर्ब २० करोड ९९ लाख रुपैयाँ र महाविपत्ती कोषमा ९ करोड ७६ लाख रुपैयाँ सञ्चित छ ।
यस अवधिसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी भने १५ रुपैयाँ ९२ पैसा, प्रतिशेयर नेटवर्थ २२० रुपैयाँ ३६ पैसा र मूल्य आम्दानी अनुपात ३४.१४ गुणा रहेको छ ।
प्रतिक्रिया