नेपाल राष्ट्र बैंकले बुधवार सार्वजनिक गरेको चालु आर्थिक वर्षको त्रैमासिक वित्तीय विवरणअनुसार रेमिट्यान्सको वृद्धिदर बढेको छ ।
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा रेमिट्यान्सको आयात १६ प्रतिशत भन्दा बढिले बढेको छ । साउन, भदौ र असोजको अवधिमा रेमिट्यान्स १६ दशमलव आठ प्रतिशतले वृद्धि भइ दुई खर्ब ८१ अर्ब पाँच करोड रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्षको पहिलो तीन महिनामा रेमिट्यान्स सात दशमलव एक प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स सात दशमलव नौ प्रतिशतले वृद्धि भइ २अर्ब १९ करोड पुगेको छ ।
यस्तै चालु आर्थिक वर्षको तीन महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या एक सय २३ दशमलव एक प्रतिशतले वृद्धि भइ एक लाख ४७ हजार नौ सय ३२ जना पुगेको छ ।
त्यसैगरी वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ६६ प्रतिशतले वृद्धि भइ ५७ हजार आठ सय ६१ जना पुगेको छ ।
प्रतिक्रिया