काठमाडौं, साताको पहिलो कारोबार दिन (आइतबार) शेयर बजार ओरालो लागेको छ । गत साताको सोमबारदेखि ओरालो लागेको नेपाल स्टक एक्सेञ्ज (नेप्से) आज पनि घटेर बन्द भएको छ ।
यस दिन नेप्से परिसूचक १०.५४ अंक घटेर १८८३.१६ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १.८३ अंक घटेको छ ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार १ अर्बभन्दा बढीको शेयर कारोबार भएकोमा यस दिन २२५ स्टकको १८ हजार ४५ पटकको कारोबारमा ७७ करोड ४९ लाख ११ हजार रुपैयाँ बराबरको २० लाख २८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
आइतबार लक्ष्मी इक्वीटि फण्डको इकाईमूल्य सर्वाधिक ७.९० प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन लक्ष्मी उन्नती कोषको इकाईमूल्य ३.७७ प्रतिशत बढेको छ भने मन्दाकिनी हाइड्रोपावरको शेयरमूल्य ३.७४ प्रतिशत बढेको छ। यस दिन नबिल ब्यालेन्स्ड फण्ड २ को इकाईमूल्य सर्वाधिक ६.९० प्रतिशत घटेको छ भने निर्धन उत्थान लघुवित्तको शेयरमूल्य ६.४० प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीकोा यस दिन १० करोड ३९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन निर्धन उत्थान लघुवित्त, नबिल बैंक, हिमालयन पावर पार्टनर र नेपाल पुनर्बीमा कम्पनीको २ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।
१३ उपसमूहमध्ये यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक बाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। सो उपसमूहको परिसूचक यस दिन ०.६० प्रतिशत बढेको छ। यस दिन १२ उपसमूहको परिसूचक ओरालो लागेको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.४४ प्रतिशत घटेको छ। त्यस्तै, लघुवित्त र जलविद्युत उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी घटेको छ ।
प्रतिक्रिया