काठमाडौं - आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ६६ लाख ४० हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । संस्थाले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तीनमहिनासम्मको वित्तिय विवरणले यस्तो देखाएको हो ।
विवरण अनुसार उक्त नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा ५५.०५ प्रतिशतले कम हो । अघिल्लो वर्ष यही अवधिमा संस्थाले १ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा पनि ६५.९१ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यही अवधिमा संस्थाले १ करोड ८२ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेकोमा समीक्षा अवधिमा घटेर ६२ लाख ३२ हजार रुपैयाँमा सीमित बनेको छ ।
पहिलो त्रैमासमा संस्थाले ६ करोड ७८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यही अवधिमा यस्तो आम्दानी ९ करोड २० लाख रुपैयाँमा सीमित थियो । यो हिसाबले खुद ब्याज आम्दानी पनि २६.३४ प्रतिशतले ओरालो लागेको छ ।
चुक्तापुँजी ३६ करोड ७१ रुपैयाँ संस्थाको रिजर्भको आकार ३६.८० प्रतिशतले घटेर ११ करोड २५ लाख रुपैयाँमा खुम्चिएको छ । अघिल्लो वर्ष रिजर्भमा १४ करोड १३ लाख रुपैयाँ थियो ।
समीक्षा अवधिमा संस्थाले ३ अर्ब १८ करोड रुपैयाँ सापटी लिई ५ अर्ब १९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो वर्ष यही अवधिमा संस्थाले ३ अर्ब २० करोड रुपैयाँ सापटी लिई ४ अर्ब ८७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।
पहिलो त्रैमासमा संस्थाको एनपीएल बढेर ४.९५ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यही अवधिमा एनपीएल ४.६२ प्रतिशत थियो ।
वार्षिकीकृत संस्थाको ईपीएस घटेर ७.२४ रुपैयाँमा झरेको छ । अघिल्लो वर्ष यही अवधिमा ईपीएस २०.६१ रुपैयाँ थियो । पीई रेसियो ९८.३४ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १३०.६६ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया