काठमाडौं - सेयर बजारमा मंगलबार पनि झिनो अंकको गिरावट आएको छ । आज बजार २.५७ अंकले घटेको हो ।
योसँगै नेप्से परिसूचक १९५६.३६ को विन्दुमा ओर्लेको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.१२ अंकले घटेर ३८४.२१ को विन्दुमा झरेको छ । कारोबार रकम पनि हिजोको तुलनामा घटेर १ अर्ब रुपैयाँ बढीको भएको छ ।
आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ४ वटामा हरियाली छाएको छ भने ९ वटामा रातो पोतिएको छ । यो दिन जीवन बीमा समूह सर्वाधिक १.०३ प्रतिशतले उकालो लागेको छ । अन्य समूह ०.९७ प्रतिशतले बढ्दा निर्जीवन बीमा समूहमा ०.३ प्रतिशत र वित्त समूहमा ०.२८ प्रतिशतको बढोत्तरी भएको छ ।
आज व्यापार समूह सर्वाधिक १.५६ प्रतिशतले ओरालो लागेको छ । उत्पादन तथा प्रशोधन समूह ०।७१ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.२९ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.१४ प्रतिशत, विकास बैंक समूहमा ०.२१ प्रतिशत, जलविद्युत समूहमा ०.६२ प्रतिशत, लघुवित्त समूहमा ०।६३ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.३ प्रतिशत र लगानी समूहमा ०.१८ प्रतिशतको गिरावट आएको छ ।
प्रतिक्रिया